काठमाडौँ । सामाजिक सञ्जाल (टिकटक) मा भाइरल सिमान्त केसीको क्लिनिक प्रहरीले बन्द गराएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका-७ स्थित ढलमल पुल नजिकै रहेको क्लिनिक अत्यधिक भिड भएका कारण बन्द गराएको प्रहरी वृत्त बालाजुका डीएसपी मनोजीत कुँवरले बताए ।
‘हिजोबाट क्लिनिक बन्द छ’ डिएसपी कुँवरले भने-‘अत्यधिक भीड भएपछि बन्द गर्न आग्रह गरेका हौं ।’ बर्षौंदेखि निको हुन नसकेको दिर्घरोग आँखाले हेरेकै भरका निको पार्ने गुरु भनेर सिमान्तले उपचार गरिरहेका गतिविधि सामाजिक सञ्जालमा भाइरल छ । सामाजिक सञ्जालमा कतिपयले उनको उपचार पद्धति वैज्ञानिक नभएको र ‘ठगी’ भएको दाबी गरेका छन् । तर, हालसम्म उनी विरुद्ध ठगीको उजुरी नआएको डीएसपी कुँवरले बताए । डीएसपी कुँवरले भने-‘ठगी सम्बन्धी निवेदन जाहेरी आएको छैन ।’
सिमान्तसँग उपचार गराउन काठमाडौँ बाहिरबाट पनि अत्यधिक मानिसहरू आउने गरेका छन् । प्रतिव्यक्ति १ हजार लिएर उनले दैनिक ४ सय जनाको उपचार गरिरहेको कुरा सामाजिक सञ्जालमा उनले नै बताएको भिडियो पोस्ट गरिएको छ ।