• मंसिर १२ २०८१, बुधबार

चिसोमा यी रोगबाट बचौं

पुष ६ २०७९, बुधबार

चिसोको हिसाबले पुस महिना फासफुस र माघ महिना बाघ हो, तर पुष महिना सुरु नहुँदै गर्दा चिसोले सयौं बिरामी पारिसकेका छन् भने माघमा झन् कतिको मृत्यु हुनेछ भन्ने आशंका सिर्जना भएको छ ।

चिसो र शीतलहरले शारीरिक कमजोरी भएका वृद्धवृद्धा, सडक बालबालिका, विस्थापित परिवार, घरवारविहीन परिवार, सडक मजदुरहरू बढी प्रभावित हुन्छन् । झाडापखाला, निमोनिया र टाउको र छाती दुख्ने समस्या देखिन्छ ।

हातखुट्टाका औंला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीं घाउ हुने, रूघाखोकी, दम र यसका जटिलताहरू, छालासम्बन्धी समस्याहरू, दाद, अनुहारमा सेतो दाग, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, छाला सुख्खा हुने, फुस्रो हुने र फुट्ने, चिसोको एलर्जी हुने, अपच, पखाला, आउँजस्ता पाचनसम्बन्धी रोगहरू देखा परिरहेका छन् ।

हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउँछ । मुटु, श्वासप्रश्वास र दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्दछ चिसोले । शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने र बालबालिकामा दादुरा, ठेउला, पनि ल्याउछ ।

जाडोमा शारीरिक सरसफाइमा कमी हुनाले लिंग र योनीमा फोहर जम्ने, कापमा संक्रमण हुने, योनीद्वारबाट सेतो पानी बग्ने, यौनांग वरिपरि चिलाउने योनिरसको बहाव बढ्ने हुनसक्छ ।

मौसम भोजभतेरको समय पनि भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्यास्ट्रिाइटिस, झाडा, पखाला हुन सक्छ र जन्डिस र टाइफाइड पनि प्रसस्त पाइन्छ । जाडोमा रगत बाक्लो हुने भएकाले सुगर र रक्तचाप मात्र बढ्दैन, प्रायः सबै दीर्घकालीन रोगीहरू बढी गम्भीर बन्छन् ।

दमखोकी भन्नाले स्याँस्याँ (उक्सासो) हुने, सास फेर्न गाह्रो हुने र समय समयमा खोकी आइरने जीर्ण रोग भएको अवस्थालाई जनाउँछ । पीडित व्यक्तिको श्वास तथा उपश्वास नलीको श्लेष्मिक आवरण सुन्निनाले श्वास मार्ग साँगुरिने र श्वास नलीमा श्लेष्मा थुप्रिने कारणले गर्दा श्वास फेर्दा फोक्सोमा अक्सिजन सहज तरिकाले नपुगी आराम अवस्थामा पनि नकारात्मक असर परी श्वास तीव्र गतिले चल्छ ।

गाउँघरका घरमा झ्याल धेरै कम हुने, घरभित्र चुलोमा दाउरा बालेर खाना पकाउने, आगो ताप्ने गर्दा घरभित्र धुवाँ भरिएर बस्दछ । धुवाँलाई मित्र वा अभिन्न अंग बनाइएको हुन्छ ।

घरका थाम र दलीन धुवाँले मक्किन दिँदैन भन्ने विश्वासले पनि धुवाँलाई घरभित्र प्रश्रय दिइन्छ । तसर्थ, धुवाँ नआउने चुलोको चलन चलाउन स्वास्थ्य मन्त्रालयलगायत हामी सबै लाग्नुपर्छ ।

कतिपयमा समस्या पहिलेदेखि नभए पनि अकस्मात् बादल लागेर चिसो हावा चल्दा, हावामा धुलो, धुवाँ, वायुमण्डलीय सुष्म कण, विभिन्न प्रकारका रसायन, कीटनाशक औषधि, पुष्प, परफ्युम, टेलकम पाउडर, दोहोरो हावा नछिर्ने कोठा, भान्छामा खाना पकाउँदा उत्पन्न हुने खार पर्दछन् ।

एलर्जी, हाच्छ्यूँ आई खोकी लागेर श्वास बढ्छ । बढ्दो जनसंख्या, अव्यवस्थित सहरी करण, थोत्रा सवारी साधन, काठ, दाउरा, गुइठा बाल्दाको धुवाँको प्रदूषण बढ्छ ।

स्मरणीय छ स्वयंले नगरे पनि गरी रहने मानिसको नजिक बस्नेलाई समेत असर पार्छ । गर्भवती महिलाले धु्रमपान गर्दा नवजात शिशुमा दम पाइन्छ । अत्यधिक मानिस तनाव, चिन्ता, रिस, भय आदिबाट पनि दम आउन सक्छ ।

अधिकांश दमका रोगी चुरोटका अम्मली हुन्छन् । औषधि विज्ञानले दमको प्रमुख कारण सुर्ती र त्यसमा पनि चुरोट सेवनलाई मानेको छ । लामो समयसम्म चुरोट सेवन गरेका र धुवाँमा जीवन बिताएका मानिसलाई यो सीओपीडीले समात्छ । साथै निकै कममा चुरोट सेवन नगरे पनि शरीरमा एउटा इन्जाइमको अनुपस्थितिले भएको देखिन्छ ।

चिसोका कारण होस् या जुनसुकै स्थितिमा पनि रोग लागेपछि उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने त छँदै छ । तापनि चिसोका कारण उत्पन्न हुन सक्ने रोग लाग्न नदिन धुवाँ धुलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन ‘सी’ पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलफूल तथा सागपात पर्याप्त मात्रामा खाने गर्नुपर्छ ।

सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्दा चिसोबाट बच्न सकिन्छ । यसका अतिरिक्त धुलो, धुवाँ, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउने गर्नुपर्छ । शरीर तथा कोठा न्यानो बनाउने निहुमा धुम्रपान, मद्यपानको सेवन गर्ने, झ्याल, ढोका थुनेर गुइँठा, दाउराको आगो बाल्ने गर्नुहुँदैन