काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपिओ आज (शुक्रवार) बिहान बाँडफाँट भएको छ ।
विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको हात्तिसारस्थित कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो । गोलाप्रथाद्वारा २२ हजार ११५ जनाले कम्पनीको आईपिओ पाएका छन् । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले शेयर पाएका हुन् ।
यस कम्पनीको आईपिओमा कुल २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएका थिए भने २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोला प्रथामा सहभागि गराएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।
कम्पनीले जारी पूँजी रू.६ करोड ५६ लाख २५ हजारको ३६ प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरको रू.२ करोड ३६ लाख २५ हजार बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्कासन गरेको थियोे ।
सर्वसाधारणका लागि निष्कासन गरिएको कुल कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकिएको छ। कम्पनीले बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर भने सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नाफा रू. ५ करोड ९२ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. १४० र प्रतिशेयर नेटवर्थ रू. ४०३ दशमलव ९१ रहेको छ ।