काठमाडौं । इरानबाट सुरक्षा खतरा बढेपछि अमेरिकाले सोमबार बेलायतस्थित एक सैन्य अखडाबाट आफ्ना विमानहरू अन्यत्र सारेको वाल स्ट्रिट जर्नललाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
रोयल एयर फोर्सको मिल्डेनहल बेसमा देखिएको सुरक्षा खतरा कस्तो प्रकृतिको हो भन्नेबारे अमेरिकी अधिकारीहरूबीच अझै छलफल भइरहेको डब्ल्ल्यूएसजेले जनाएको छ ।
सोमबार बिहान अमेरिकी वायुसेनाका हवाई इन्धन भर्ने दुई विमानलाई जर्मनीतर्फ ‘डाइभर्ट’ गरिएको थियो । दिनको अन्त्यतिर अरू विमानलाई पनि जर्मनीलगायत स्थानमा सारिएको जनाइएको छ ।
अमेरिकाले आरएएफ मिल्डेनहल र अर्को सैन्य अखडा आरएएफ लेकनहिथमा सुरक्षा सतर्कताको स्तर बढाएर ‘एफपीसीओएन चार्ली’ पुर्याएको दाबी गरिएको छ । पेन्टागनको सैन्य सुरक्षा प्रणालीअन्तर्गत दोस्रो उच्च तहको यो सतर्कताले आतंकवादी वा लक्षित आक्रमण हुन सक्ने संकेत गर्छ ।
बेलायती रक्षा मन्त्रालयका प्रवक्ताले अरू देशका सैन्य गतिविधिबारे नियमित रूपमा टिप्पणी नगर्ने बताएका छन् । उनले भने, “सञ्चालनगत आवश्यकताअनुसार विमान र अरू सैन्य सामग्रीहरू नियमित रूपमा विभिन्न स्थानमा सारिने गर्छन् ।”
गएको महिना बेलायतस्थित अर्को सैन्य अखडा आरएएफ फेयरफोर्डमा पनि इरानसँग सम्बन्धित सुरक्षा खतरा देखिएपछि अमेरिकी सैन्य विमानहरू अन्यत्र सारिएका थिए ।
इरानमाथि हवाई आक्रमण गर्न अमेरिकी बी–१ बम्बर विमानहरूले आरएएफ फेयरफोर्ड प्रयोग गर्दै आएका थिए । तर, सेप्टेम्बर २७ को बिहान सैन्य अखडाबाहिर पाँच व्यक्ति पक्राउ परेपछि सुरक्षा कारण देखाउँदै ती बम्बर विमानहरू अन्यत्र सारिएका थिए ।