• कार्तिक २५ २०८३, मंगलवार

ब्रिटिस गोर्खा र तिनका सन्ततिको वंशजको नेपाली नागरिकता निरन्तरताबारे बेलायतमा पर्यटनमन्त्री पौडेलसँग अन्तरक्रिया

कार्तिक २५ २०८३, मंगलवार

अल्डरसट। बेलायतमा रहेका नेपाली गोर्खा तथा उनीहरूका सन्ततिको भविष्यसँग जोडिएको नेपाली वंशजको नागरिकता निरन्तरताका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय खडक राज (गणेश) पौडेलसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बेलायतको सैनिक सहरका रूपमा परिचित अल्डरसटस्थित एम्पायर हलमा सिएनसिबिजिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा मन्त्री पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

गोर्खा भर्ती प्रथाका कारण बेलायतमा बसोबास गर्दै आएका तथा आगामी पुस्तासमेत बेलायतमा रहनुपर्ने परिस्थितिमा रहेका हजारौँ नेपाली गोर्खा र उनीहरूका सन्ततिको नेपाली नागरिकताको निरन्तरतासम्बन्धी विषयलाई केन्द्रमा राखेर अन्तरक्रिया आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा मन्त्री पौडेलले नेपाली वंशजको नागरिकता निरन्तरतासम्बन्धी नेपाल सरकारको पछिल्लो अवधारणा प्रस्तुत गर्दै सहभागीहरूले राखेका जिज्ञासा तथा प्रश्नहरूको जवाफ दिएका थिए ।

मन्त्रीको मन्तव्यपछि सिएनसिबिजिका अध्यक्ष थर्क रानाले संस्थाका तर्फबाट थप जिज्ञासा तथा सरोकारका विषयहरू राखेका थिए । सोही अवसरमा उनले संस्थाको आधिकारिक अवधारणा–पत्रसमेत मन्त्री पौडेललाई हस्तान्तरण गरेका थिए ।

यसअघि विभिन्न समयमा सम्बन्धित निकायमा ज्ञापनपत्र तथा मागहरू प्रस्तुत गरिए पनि हालसम्म आधिकारिक जवाफ प्राप्त हुन नसकेको उल्लेख गर्दै आयोजकले यसपटक मन्त्रीलाई नागरिकता निरन्तरतासम्बन्धी समस्या र त्यसको प्रभावबारे थप अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले अवधारणा-पत्र बुझाइएको जनाएको छ।

छोटो समयको सूचनामा आयोजना गरिएको कार्यक्रममा विभिन्न नेपाली संघ(संस्थाका अध्यक्ष, प्रतिनिधि, सिएनसिबिजिका समर्थक, शुभचिन्तक तथा अभियानका अभियन्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको व्यवस्थापन तथा समन्वयमा सहयोग पुर्‍याउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यूकेका प्रतिनिधि एवं समाजसेवी ज्ञान गुरुङलाई आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ।

आफ्नो व्यस्त बेलायत भ्रमणका बाबजुद नागरिकताको निरन्तरताजस्तो संवेदनशील विषयमा छलफल गर्न निमन्त्रणा स्वीकार गरी कार्यक्रममा सहभागी हुनुभएकोमा मन्त्री पौडेलप्रति सिएनसिबिजिले आभार व्यक्त गरेको छ।

देश तथा विदेशमा रहेका नेपालीहरूको निरन्तर साथ, सहयोग र समर्थनबाट नागरिकता निरन्तरताको अभियानलाई अगाडि बढाउँदै अपेक्षित उपलब्धि हासिल गर्ने विश्वाससमेत आयोजकले व्यक्त गरेको छ।