• कार्तिक २५ २०८३, मंगलवार

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा

कार्तिक २५ २०८३, मंगलवार

काठमाडौँ ।  नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् ।

नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं. ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएको इतिहास छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो ।

लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो । लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ । नेपालको नामबाट नामकरण गरिएको यस संवतलाई राष्ट्रिय मान्यता दिलाउन २००७ सालमा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको छ ।

नेपाल संवतको नयाँ वर्ष काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखाको भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुका साथै मौलिक संवत् सञ्चालनमा योगदान पुर्‍याएको उच्च मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

२०६५ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । काठमाडौँमा कार्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परा पनि कायम छ ।

म्हः (आत्म) पूजानेपाल संवतको नयाँ वर्षका अवसरमा आज नेवार समुदायले म्हः (आत्म) पूजा पनि गर्दैछन् । मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आफ्नो आत्माको पूजा गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

आत्मालाई सन्तुष्ट र प्रशन्न राख्न सके देवीदेवता पनि प्रशन्न भई आशीर्वाद दिने तथा मानव जीवन सार्थक हुने धार्मिक विश्वास रहेको छ ।

यस वर्ष सोमबार र आज (मंगलबार)दुई दिन प्रतिपदा तिथि परेकाले नेपाल संवतको नयाँ वर्ष र म्हः पूजा मनाउने दिनमा केही स्थानमा भिन्नता देखिएको छ । केही स्थानमा सोमबार नै नेपाल संवतको नयाँ वर्ष मनाइएको छ भने नेवार समुदायका केही समूहले आज म्हः पूजा पूजा गर्दैछन् ।