काठमाडौं। मगर भेजा समाज नेपालले तिहार (बलिहाङ) पर्वको अवसर पारेर सोमबारदेखि देउसी–भैलो कार्यक्रम सुरु गरेको छ।
मगर समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको देउसी–भैलो कार्यक्रम काठमाडौं, ललितपुरलगायत विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको छ।
कार्यक्रममा सहभागी मगर समुदायका सदस्यहरूले मौलिक मगर पोशाक पहिरिएर देउसी–भैलो खेलेका छन्। उनीहरूले मगर सांस्कृतिक गीतमा नृत्य प्रस्तुत गर्नुका साथै आपसमा शुभकामना आदानप्रदान गर्दै तिहार पर्व मनाएका छन्।
मगर संस्कृति, पहिचान र परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउने तथा समुदायबीच आपसी एकता, सद्भाव र सक्रियता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजका कार्यवाहक अध्यक्ष खिम थापामगरले जानकारी दिए।
उनका अनुसार देउसी–भैलो कार्यक्रममार्फत मगर समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण गर्दै सामाजिक सम्बन्धलाई थप सुमधुर बनाउने प्रयास गरिएको छ।
कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सफल बनाउन समाजले सदस्यहरूलाई संशोधित समयतालिकाअनुसार सहभागी हुन आग्रह गरेको छ। साथै, व्यवस्थापकीय जिम्मेवारीमा रहेका सदस्यहरूलाई आवश्यक जनशक्ति परिचालन तथा जिम्मेवारी व्यवस्थापन गरिएको समाजले जनाएको छ।
समाजले सामाजिक अभियानमा सहभागी भई आफ्नो अमूल्य समय, साथ र योगदान प्रदान गर्ने सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै विभिन्न कारणले अनुपस्थित रहेका सदस्यहरूलाई आगामी कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन विशेष अनुरोधसमेत गरेको छ।
समाजको एकता, सक्रियता र प्रतिष्ठा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै मगर भेजा समाज नेपालले सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूलाई देउसी–भैलो कार्यक्रम सफल बनाउन सहयोग र सहभागिताका लागि आह्वान गरेको छ।
समाज नेपालकी अध्यक्ष तथा पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) पार्वती थापामगरले पनि तिहार (बलिहाङ) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छन्।
उनले मगर समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण गर्दै आपसी एकता, सद्भाव र भाइचारालाई थप मजबुत बनाउन सबैलाई आग्रह गरेकी छन्। साथै, मगर भेजा समाज नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रमप्रति आफ्नो ऐक्यबद्धतासमेत जनाएकी छन्।