चितवन। भरतपुर महानगरको प्रमुखका लागि उम्मेदवारी दिन बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका छन्। स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने प्रावधान अनुसार उनले बिहीबार राजीनामा दिएका हुन्।
नेकपा एमालेबाट भरतपुर महानगरको मेयर पदमा सर्वसम्वत सिफारिस भएका सुवेदीले प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिएका हुन्।
३० बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ११ र १२ बैशाखमा मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ । सोही कारण सुवेदीले आजै हेटौंडा पुगेर राजीनामा दिएका हुन्।
सुवेदी चितवन क्षेत्र नम्बर २ (ख)बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।उनले चार वर्ष तीन महिना बागमती प्रदेश सभा सदस्यको रुपमा काम गरे ।
उनले ४९ दिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।