• बैशाख १४ २०८२, आईतवार

गणतन्त्रको नाममा राजनीतिक पार्टीहरुको  लुटतन्त्र

पुष २० २०७८, मंगलवार

जनकपुरधाम ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा गणतन्त्र पक्षधर राजनीतिक पार्टीहरुले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको भन्दै आरोप लगाएका छन् ।

मुलुकमा गणतन्त्र आएको १५ वर्ष भइसक्दा पनि राजनीतिक पार्टीले युवाहरूलाई रोजगारी प्रदान गर्ने एउटा पनि काम नगरी लोकतन्त्रको नाममा उनीहरू लुटतन्त्र मच्चाएको उनले आरोप लगाए ।

मंगलबार जनकपुरमा पार्टीले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेला तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘गणतन्त्र आएको १५ वर्ष भइसकेको छ । युवाहरूलाई रोजगारी सिर्जना हुने एउटा पनि काम यी दलहरूले गर्न सकेन । यिनीहरूले देशलाई बेरोजगार युवाहरू उत्पादन गर्ने कारखानामा परिणत गरिदिएका छन् ।’

विगतमा राजाले लिइरहेको सुविधा अहिलेको राष्ट्रपति विद्यादेवी भण्डारीले लिइरहेको बताउँदै अध्यक्ष लिङ्देनले भने, ‘राजाभन्दा पनि अहिले देशको साधन श्रोत दलहरूले खर्च गरिरहेका छन् । प्रत्येक पाँच वर्षमा राष्ट्रपति फेरिँदा पूर्व राष्ट्रपतिहरूलाई पनि सुविधा दिने जानेको हो, राज संस्थाको खर्च र अहिलेको व्यवस्थाको खर्च धेरै फरक हुन्छ ।’ उनले विगतको राजसंस्थाभन्दा अहिले गणतन्त्र खर्चिलो भएको बताए ।