• बैशाख १४ २०८२, आईतवार

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट बाँडफाँड, कुन दललाई कति सिट ?

पुष १९ २०७८, सोमबार

काठमाडौँ । सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड गरेका छन् । सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँडमा सहमति जुटाएको हो ।

जस अनुसार कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५-५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याइएको छ ।

आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुँदै छन् । आजकाे बैठकमा जसको जति सांसद खाली छन् त्यति नै सिट पाउने र एमालेबाट खाली हुने सिटमध्ये तीनवटा कांग्रेस, दुईवटा जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट लिने गरी सहमति जुटेको हाे ।

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन आयोगले यही पुस २० गतेको समय निर्धारण गरेको छ ।