काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनले स्थायी कमिटी सदस्य देव गुरुङले पेस गरेका विधान पारित गरेको छ। विधान मस्यौदामाथि उठेका प्रश्नको शनिबारको बन्दसत्रमा नेता गुरुङले जवाफ दिएसँगै हलले पार्टीको विधान पारित गरेको हो।
सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रुप दिने गरी हलले सर्वसम्मतले पार्टीको विधान पारित गरेको हो।
विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ। केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ। यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ।
महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटव्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ। पोलिटव्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ।
५० प्रतिशतको पूर्ण समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेसी, आदिवासी जनजाति, खस आर्य, अपांगता, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर बनाइएको छ। केन्द्रीय कमिटीमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व हुने बताइएको छ।