• बैशाख १३ २०८२, शनिबार

मन्त्रिपरिषद् बैठकका ९ निर्णय

पुष १६ २०७८, शुक्रबार

काठमाडौं । सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययनरप्रयोगात्मक अभ्यासरइन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने भएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन/प्रयोगात्मक अभ्यास/इन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

मन्त्री कार्कीका अनुसार बैठकले निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिए । मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्वाचन आयोगसम्बन्धी विधेयक र निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृत प्रदान गरेको हो ।

निर्वाचन आयोगले आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ भने आगामी एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले आदिकवि भानुजन्मस्थल विकास समितिको अध्यक्ष पदमा ऋषिराम पन्त र कार्यकारी निर्देशकमा शंकर रानाभाटलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले १८ पुसदेखि १२ दिनकालागि बलाधिकृत बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको कार्यभार तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । पुस १८ गतेदेखि ३० गतेसम्म प्रधान सेनापति महारथी प्रभुराम शर्मा घर विदामा बस्दैछन् ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा.गंगादत्त आचार्यलाई सार्क एग्रिकल्चर सेण्टर ढाकामा वरिष्ठ कार्यक्रम विज्ञ पदमा काम गर्न काजमा खटाउने निर्णय गरेको छ ।