काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुने बताएका छन् ।
बुधबार ८औं महाधिवेशनअन्तर्गतको चौथो दिनको बन्दसत्र सकेर प्रज्ञा भवनबाट बाहिरिने क्रममा अध्यक्ष दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै लोकतान्त्रिक तरिकाले नेतृत्व चयन हुने बताएका हुन् ।
अध्यक्ष दाहालले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले पेस गरेको विधान परिमार्जन प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको छ ।
सोही अन्तर्गत बन्दसत्रमा बुधबार (आज) ११ समूहका टोली नेताले छलफलको निष्कर्ष सुनाएका छन् । त्यस्तै अब विहीबार (भोलि)को बन्दसत्रमा बाँकी १४ समूहका टोली नेताहरुले निष्कर्ष सुनाउने छन् ।
त्यसपछि अध्यक्ष दाहालले जवाफ दिने कार्यसूची रहेको छ । माओवादी केन्द्रको महाधिवेशन यही पुस ११ गते सुरु भएको हो ।