काठमाडौं । जनतामा जाने कुरा प्रतिगमन नभएको एमाले नेता तथा महासचिव शंकर पोखरेलले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा अतिथिका तर्फबाट आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा उनले यस्तो कुरा बताएका हुन् ।
समस्याको समाधानका लागि जनतामा जानु पर्ने विधि नै सर्वोत्तम विधि भएको भन्दै यसलाई इन्कार कसैले गरे पनि त्यो गलत साबित हुने उनको जोड रहेको छ । हालसम्म नेपालमा तीतीनवटा युद्धहरु भए पनि समाज रुपान्तरण गर्न असफल रहेकाले यसको समीक्षा गर्न निकै ढिलाइ भैसकेको पोखरेलको दाबी छ ।
देशमा भएका सबै युद्ध र आन्दोलनमा धेरै सहीदहरुले आफूलाई बलिवेदीमा होमे पनि प्राप्त उपलब्धीलाई संरक्षण गर्न नेता र राजनीतिक पार्टीहरु असफल भएको पोखरेलको दाबी रहेको छ । लक्ष्य र उद्देश्यअनुरुप काम भए पनि आज त्यसको संस्थागत संरक्षण हुन नसक्नुमा नेताहरुको कमजोरी रहेको उनको दाबी छ ।
हामीहरुमाथि खेल खेल्नेहरुका विरुद्ध देश र जनतालाई शीर्ष स्थानमा राख्दै अघि बढियो भने समान सोच र धारणा भएका राजनीतिक दलहरु बीचमा एकता फेरि पनि संभव छ भन्दै पोखरेलले यदि देश बनाउने हो भने रुपान्तरणसहित एकतामा आउनु जरुरी छ भन्ने कुरामा जोड दिएका छन् ।