• बैशाख ११ २०८२, बिहीबार

प्रधानमन्त्री देउवालाई दाहालको प्रस्ताव : ओलीजी आउनुभएन, हामी नै बालकोट जाऔँ

पुष १० २०७८, शनिबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्न उनकै निवास बालकोट जाने प्रस्ताव प्रधानमन्त्रीसमक्ष राखेका छन् ।

शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलको क्रममा अध्यक्ष दाहालले एमसिसी र संसदको अवरोधको सन्दर्भमा छलफल गर्न बोलाइएको बैठकमा ओली नआएपछि आफूहरू नै ओलीनिवास बालकोट जान प्रस्ताव गरेको बताए ।

‘पटक–पटक प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रतिपक्ष दल नआउने अवस्था आएपछि मैले प्रधानमन्त्रीज्यूलाई भनें, प्रधानमन्त्रीज्यू उहाँ आउनुभएन, उहाँ त्यस्तै हुनुहुन्छ, अब तपाईं र म नै बालकोट जाऔँ’ अध्यक्ष दाहालले भने, ‘सदन रोक्दिन भएन भनौं र अन्य विषयमा पनि छलफल गरौं भनेकोमा उहाँले महाधिवेशन पछि भन्नुभएको थियो ।’

आफूहरूको राष्ट्रिय सम्मेलनपछि ओली बालुवाटार वा सिंहदरबार नआए आफूहरू बालकोट जाने अध्यक्ष दाहालले बताए । देश, जनता, प्रणाली र जनताप्रति जिम्मेवार भएका मानिसले जिम्मा लिनुपर्ने भएकाले आफूहरु नै जाने सोच बनाएको उनको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको दुईपटकको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली सहभागी भएका थिएनन् । माधवकुमार नेपालको दल नेकपा एकीकृत समाजवादीलाई आफूहरुले राजनीतिक दल नमानेको एमालेले बताउँदै आएको छ ।