काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) ले धाक दिँदै हिँडेको भन्दै आउँदाे चुनावमा उनीहरूको हालत नागरिकले देखाउने टिप्पणी गरेका छन्। शुक्रबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्ताे बताएका हुन् ।
उनले भने, आगोसँग खेल्ने दुस्साहस नगर्नू उचित हुन्छ भनेको थिएँ । के भयो आगोसँग खेल्दा ? बालुवाटारबाट बालकोट भयो । ६ वटै प्रदेशबाट मुख्यमन्त्री चट भयो । अहिले बडो धाक, धम्की लगाएर त हिँडेका छन् । उनीहरूकाे त्यो धाक, धम्की मात्रै हो । आउने चुनावमा देखिने छ । कसको हालत के भयो र कसको हालत के हुने ? त्यो नेपाली जनताले देखाउने छन् ।’
गठबन्धनका राजनीतिक दल र दलका नेताहरूसँग आफूहरूको कुनै पनि प्रकारको वैरभाव नरहेको उनको भनाइ छ । माओवादीले गठबन्धनलाई बलियो बनाउन लगातार प्रयास गरिरहेको पनि उनले बताए । उनले भने, ‘कुनै गठबन्धनका नेता र पार्टीसँग हाम्रो कसैसँग कुनै वैरभाव छैन । बरु त्यो गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भन्ने हाम्रो विश्वास छ । र हाम्रो तर्फबाट त्यसको निम्ति लगातार प्रयास भएको छ । रहिरहने छ । हाम्रो आजको यो एकीकरण कार्यक्रमले गठबन्धनमा रहेका कुनै पनि पार्टी, नेता या संस्थालाई कुनै नकारात्मक असर पर्ने छैन भनेर म विश्वास व्यक्त गर्न चाहन्छु ।’