काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा नरहेको बताएका छन्।
मंगलवार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे।
गठबन्धन तोडेमा एमालेले एमसिसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको उनले बताए। उनले एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख गर्दै वर्तमान सरकार पूर्ण अवधि चलोस् र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताए।
‘यस्ता मिथ्या आरोपको कुनै अर्थ छैन । एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुची छैन । सरकारमा जान कुनै रुची छैन । नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाऊँ भन्ने छैन,’ उनले भने, ‘हामी यो सरकार पूर्ण अवधि चलोस्। गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौँ । र, स्पष्ट गर्न चाहान्छु म नेकपा एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन। कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौँ।’