काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं १७ मा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दया फाउण्डेशन,अमेरिकामा रहेको नेपालीको संस्था युनाइटेड नेवा,आइओएनलगायत दर्जनबढी संस्था तथा व्यक्तिको सहयोगमा चिकित्सालयमा दैनिक १०० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो ।
अक्सिन प्लान्टको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी छिन् । रु एक करोड ४५ लाखको लागतमा अक्सिजन प्लान्ट जडान गरिएको चिकित्सालयका अध्यक्ष डा मनोजमान श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा मन्त्री भुसालले अक्सिजन प्लान्टको जडानले जनताको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छिन् ।
चिकित्सालयले शहरी क्षेत्रको बीचमा रहेर न्यून आय भएका, गरिब, असहाय जनताको सेवामा समर्पणको उच्च सम्मान गर्दै सरकारले अस्पताललाई थप सहयोग गर्दै अघि बढ्ने जानकारी दिइन् ।
मन्त्री भुसालले यही मङ्सिर १ गतेदेखि देशैभरिका गरिब जनताका लागि विद्युत् महसुल घटाइएको जानकारी दिदैं गरिबलाई विद्युत् निःशुल्क उपलब्ध गराउँदै सरकार लोककल्यलाणकारी अवधारणाबाट अघि बढेको प्रष्ट पारिन् ।
काठमाडौँ महानगरपालिका वडां १७ का अध्यक्ष नवीन मानन्धरले अस्पतालले २०७२ सालको भुकम्प र हालको कोभिड महामारीमा उल्लेख्य भूमिका खेलेको उल्लेख गर्दै सरकारले पूर्वाधार विकासमा ध्यान दिन नसकेको बताए ।
चिकित्सालयले यही पुस १ गतेदेखि शनिबारका दिनमा समेत बहिरंग सेवा (ओपिडी) सेवा सञ्चालन गर्न सुरु गरिएको जानकारी दिएको छ । अस्पतालले सामान्य शल्यक्रियासमेत गर्दै आएकोमा अब विशेष प्रकारको शल्यक्रिया सेवासमेत थप गर्दै अघि बढ्ने तयारी गरिरहेको छ ।