पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक–शिक्षिकालाई लक्षित गरी दुईदिने बौद्ध परियत्ति (नैतिक) शिक्षा प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

गाउँपालिकाको आयोजना तथा रिब्दीकोट बौद्ध परियत्ति विहारको सहकार्यमा असोज २५ र २६ गते सञ्चालन हुने कार्यक्रममा पालिकाभित्रका ३७ वटा माध्यमिक विद्यालयका करिब २ सय ३५ जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको छ।
शिक्षकहरूमा नैतिक शिक्षा, मानवीय मूल्य–मान्यता र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। प्रशिक्षणमार्फत विद्यालयमा नैतिक शिक्षाको महत्त्वबारे जानकारी गराउँदै विद्यार्थीमा असल आचरण, अनुशासन र मानवीय गुणको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रशिक्षकका रूपमा अखिल नेपाल भिक्षु महासंघका कार्यकारी सदस्य तथा रौतहटस्थित गोल्माराजा बौद्ध विहारका प्रमुख भिक्षु मेधङ्कर स्थवीर, महासंघका कार्यकारी सदस्य तथा परियत्ति शिक्षाका शिक्षक भिक्षु पियरत्न स्थवीर र भिक्षु महेन्द्र सहभागी छन्।

त्यसैगरी, रुपन्देहीस्थित परियत्ति शिक्षासँग सम्बन्धित संस्थाका प्राचार्य सदम्म कोविद मधुप्रसाद ज्ञवालीले पनि प्रशिक्षणमा सहजीकरण गरिरहेका छन्।
कार्यक्रमको दोस्रो दिन असोज २६ गते रिब्दीकोट गाउँपालिका–७, बतासेस्थित कालिका माध्यमिक विद्यालयको सभाहलमा प्रशिक्षण सञ्चालन गरिएको छ। दोस्रो दिनको कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा नं. ५ देखि ८ सम्मका विद्यालयका शिक्षक–शिक्षिकालाई प्रशिक्षण दिइएको पाल्पा रिब्डीकोट बौद्ध परियत्ति विहारका अध्यक्ष एवम् समाजसेवी हुम बहादुर थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार बौद्ध दर्शनमा आधारित परियत्ति शिक्षाले नैतिक आचरण, अनुशासन, करुणा, मैत्री र सद्भावजस्ता मानवीय गुणको विकासमा जोड दिए । विद्यालय तहमा नैतिक शिक्षाको अभ्यास विस्तार गर्दै शिक्षकमार्फत विद्यार्थीमा सकारात्मक संस्कार विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनको भनाई थियो ।
कार्यक्रमका आयोजक तथा सहयोगी संस्थाले नैतिक शिक्षाको प्रवर्द्धनबाट विद्यालयको शैक्षिक वातावरण सुधार गर्न र समाजमा सद्भाव तथा मानवीय मूल्य–मान्यता बलियो बनाउन योगदान पुग्ने अपेक्षा गरेका छन्।

कार्यक्रमको सन्देशका रूपमा बौद्ध परम्पराको मंगलकामना ‘भवतु सब्ब मङ्गलम्’ अर्थात् ‘हामी सबैको कल्याण होस्’ व्यक्त गरिएको छ।
