काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित रेनुका काउचाले आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउने महाधिवेशन प्रतिनिधिहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेकी छन्।
काउचाले सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गर्दै आफ्नो विजयका लागि सहयोग गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, पार्टी नेतृत्व, शुभेच्छुक, सहयोगी तथा शुभचिन्तकहरूप्रति आभार प्रकट गरेकी हुन्।
उनले लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसभित्र आन्तरिक लोकतान्त्रिक अभ्यास हुनु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै निर्वाचनको परिणामलाई सहज रूपमा लिएर पार्टीलाई थप सुदृढ बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्ने विश्वास व्यक्त गरेकी छन्।
काँग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य काउचाले अग्रजहरूको अनुभव र युवाहरूको ऊर्जालाई समायोजन गर्दै परिवर्तित समयअनुसार संगठन सुदृढीकरण तथा पार्टी रूपान्तरण अभियानमा सक्रियताका साथ लाग्ने प्रतिबद्धता पनि जनाएकी छन्।
सबल, सुदृढ र समृद्ध नेपाली कांग्रेस निर्माणका लागि आफ्नो प्रयास निरन्तर जारी रहने बताउँदै उनले आफूहरूप्रति विश्वास र भरोसा व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।
उनले आफूलाई प्राप्त माया, साथ र सहयोगलाई सधैँ सम्मान गर्ने तथा महाधिवेशन प्रतिनिधिहरूले आफूमा राखेको विश्वास कहिल्यै टुट्न नदिने प्रतिबद्धतासमेत व्यक्त गरेकी छिन् ।