• बैशाख ९ २०८२, मंगलवार

दलहरुद्वारा एमसीसीको कार्यालय घेराऊ, वक्ताहरुले दिए यस्तो चेतावनी (तस्विर सहित)

मंसिर २७ २०७८, सोमबार

काठमाडौँ। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्‍न राजनीतिक दलहरुले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) को कार्यालय घेराउ गरेका छन् ।

 

सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले कार्यालय घेराउ गरेका हुन् ।

घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताए ।

उनले एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको भन्दै सो सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । नेता गजुरेलले एमसीसीको विरोधमा भोली (मंगलबार) संसद् भवन घेराउ गर्ने घोषणा पनि गरे ।

कार्यक्रममा नेता धर्मेन्द्र बास्तोलाले नेपालका लागि एमसीसी खतरनाक भएकोले खोरज हुनुपर्ने बताए । उनले भारतमा बजार विस्तार र चीनलाई भाँड्नका लागि अमेरिकाले नेपालमा एमसीसी ल्याएको आरोप समेत लगाए । उनले एमसीसी पास भएमा नेपाली सेना, पुलिस, कर्मचारीहरु एक अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने बाध्यता सिर्जना हुने दाबी समेत गरे ।