काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले पहिलो चरणमा कसैले पनि सभापति नजित्ने दाबी गरेका छन्। आज भृकुटीमण्डपमा पत्रकारसँगको कुराकानीमा उनले सभापतिका उम्मेदवार बढी भएकाले मत विभाजन हुँदा पहिलो चरणमै कोही पनि विजयी नहुने बताए ।
भोलि सोमबार हुने मतदानमा सभापति बन्न कसैले पनि बहुमत जुटाउन नसक्ने सम्भावना बलियो बनेको उनको भनाइ थियो । स्वयं पनि सभापतिका उम्मेदवार रहेका निधिले बरु दोस्रो चरणमा सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गरेर अघि बढ्ने बताए । यदि पहिलो चरणमै नेतृत्व चयन हुन नसकेमा दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइराला एक भएर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने निधिले बताए ।
कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुनका लागि कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने हुन्छ ।