• मंसिर १३ २०८१, बिहीबार

स्वस्थ शरीर स्वस्थ विचार : ९१ वर्षीया कार्कीको केन्द्रीय सदस्यमा उमेदवारी

मंसिर २५ २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी ९१ वर्षीया शान्ति कार्कीले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उमेदवारी दिएकी छिन् । कार्की वीरगञ्जकी उपमेयर हुन् ।

नेपाली कांग्रेसमा युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भनी एउटा एजेण्डा नै बनिरहेका बेलामा ज्येष्ठ नागरिकले पनि पार्टीमा हैसियत राख्छन् र तिनलाई पनि प्रतिस्पर्धा गर्न देऊ भन्ने प्रकट रुपमा बराबरी लडाइँको सन्देश दिने गरी ९१ वर्षीया कार्कीले आफूलाई महाधिवेशनस्थलमा उभ्याउन पुगेकी छिन् ।
रहर एउटा होला तर शरीरले पनि साथ दिएमा जो कोही पनि पार्टीको जिम्मेवारीमा आउनु पर्छ भन्ने उनको बलियो मत छ । उनको उमेदवारीले युवाको रटान लगाइरहेका युवा पुस्तामा एउटा सन्देश दिइरहेको छ– ‘नेपाली काँग्रेसमा हामी ज्येष्ठ नागरिक पनि छौं ।’

पुष्पा भुसाल, डिला संग्रौलाजस्ता महिला नेतृहरु पदाधिकारीको उमेदवार हुनबाट हराइरहेका बेला कार्कीले आफ्नो बलियो उपस्थिति देखाएकी छिन् । उनले महिला खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएपछि महाधिवेशन स्थलमा उपस्थित सबै काँग्रेसीजनको ध्यान बाध्यतापूर्वक आधा संसारतिर पनि तानिन थालेको छ । उनले महिला पनि पुरुषसँग बराबर प्रतिस्पर्धामा उत्रन सक्छन् भन्ने दह्रो आँट प्रस्तुत गरेकी छिन् ।

आफ्नो गुट र आफ्ना आसेपासेको सीमित दायरामा बल्झिइरहेको नेपाली काँग्रेसको प्रजातान्त्रिक राजनीति उनको यो साहसले फराकिलो हुन्छ वा हुँदैन, त्यो त हेर्न बाँकी छ । तर ज्येष्ठ उमेदवार कार्कीले भन्ने गरे झैं ‘नातावाद र कृपावादको अन्त्यका लागि उनको यो प्रयास’ सबैका लागि पाठ बनिसकेको छ ।