• बैशाख ९ २०८२, मंगलवार

बोलेरमात्रै होइन गरेरै देखाउँछु : प्रकाशमान सिंह

मंसिर २५ २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले आफू सभापतिमा निर्वाचित भएमा पार्टीलाई गतिशील बनाउने बताएका छन् । शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले आफूले बोलेर मात्र नभइ कामै गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे । पार्टीलाई गतिशील बनाउन विधानअनुसार आफूले सक्रिय रहेर काम गर्नेसमेत उनले बताए ।

‘नेतृत्व परिवर्तनको आवश्यकता छ, मलाई विश्वास छ, बोलेर मात्रै होइन गरेर पनि देखाउन सक्नुपर्छ, त्यो गर्छु’, उनले भने , ‘पार्टीलाई भरपर्दो पार्टीको रुपमा नेपाली जनताले चिनेको छ, त्यो विश्वास कायम गर्न भूमिका खेल्छु ।’

सिंहले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानअनुरुप नचलाएको भन्दै आक्रोश व्यक्त गरे । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नटेर्ने गरेको उनको गुनासो छ ।

पत्रकार सम्मेलनमा सिंहले आफ्नो चुनावी अवधारणापत्र समेत सार्वजनिक गरेका छन् । उनको टीममा उपसभापतिको उम्मेदवार सुजाता कोइराला रहेकी छन् ।