• फाल्गुन २८ २०८२, बिहीबार

नेपालमा भिन्न विचार र पार्टीका नेताहरु एउटै मञ्चमा बस्ने संस्कार छ : हर्षवर्द्धन

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका भारतीय सत्तारुढ पार्टी भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनले शुक्रवार भृकुटी मण्डपमा आयोजित महाधिवेशन उद्घाटन सत्रमा मन्तव्य दिँंदै निकै खुशी प्रकट गरेका छन् । उनले नेपालमा एउटा भिन्न राजनीतिक संस्कार देखेको भन्दै आफूले यसबाट धेरै महत्वपूर्ण कुरा सिकेको र अनुभूत गरेको पनि बताएका छन् ।

एउटा पार्टीको आन्तरिक महाधिवेशनमा घण्टौं बसेर आफ्ना शुभेच्छा प्रकट गर्नु एउटा उदाहरणीय राजनीतिक संस्कार रहेको उनको दावा छ । उनले भनेका छन्– ‘भिन्न मत राख्ने पार्टीको आन्तरिक महाधिवेशनमा देशका सारा जिम्मेवार नेताहरु घण्टौंसम्म शुभकामना दिनका लागि सहभागी हुने संस्कार नेपालका विकास भएको छ ।’

त्यसमा पनि यो एउटै लहरमा बसेर आन्तरिक अन्तरविरोध बिर्सेर कुराकानी गर्ने र भावना साटासाट गर्ने संस्कारमा विकास भएको छ । हर्षवर्द्धन थप्छन्– ‘यो राजनीति गर्नेहरुको हृदय ठूलो हुनुको कारण संभव भएको हो ।’ मन्तव्यका क्रममा पाहुना वक्ता हर्षवर्द्धनले नेपाल र भारतका बीचमा लामो विगत रहेको स्मरण पनि गरे । उनले दुवै देशका जनताका बीचमा दिल, दिमाग, अतित, हिन्दुत्व आदि जस्ता कुराहरु समान रहेको चर्चा पनि गरे ।

हर्षवर्द्धन ले नेपालमा २०७२ सालमा भूकम्प गएका बेला भारतले निकै गम्भीर चासो राखेर राहत र सेवाका कुराहरु समयमै पुर्याएको चर्चा पनि गरे ।