काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लीलामणि पोखरेलले कम्युनिष्टहरु द्वन्द्व र परिवर्तनविहीन माउखाने माकुरो बनेर मर्न नचाहने कुरा बताएका छन् । शुक्रवार नारायणी नदी किनारमा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिने क्रममा पोखरेलले उक्त कुरा बताएका हुन् ।
नेपाली कम्युनिष्ट आन्दोलन संघटन र विघटनको आरोह अबरोह झेल्दै यहाँसम्म आउँदा फेरि पनि विघटन र फुटमा पुगेको प्रसँग कोट्याउँदै पोखरेलले पार्टीमा विचारलाई प्राथमिकता दिनु पर्ने कुरामा जोड दिएका छन् । उनको भनाइमा पार्टी विभाजनको मूल चुरो विचार रहने गरेको छ ।
विना विचारको पार्टीलाई ‘माउखाने माकुरो’को संज्ञा दिंदै पोखरेलले आफूहरु त्यस्ता राजनीतिक पार्टीहरुको मलामी हुन नसक्ने भन्दै यस्तो अवस्थामा हुने टुटफुट र एकतालाई स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्नेमा कुरामा जोड दिएका छन् ।
पोखरेलको भनाइमा ‘समाज आपसी अन्तर्विरोधको एकता हो, समयमा आउने परिवर्तनले समाज र उक्त समाजमा रहेका अन्तरर्विरोधहरुमा पनि सापेक्ष परिवर्तन ल्याउने भएकाले’ त्यसै अनुसार माक्र्सवादीहरुले विश्लेषण गर्न र अगाडि जाने बाटो तय गर्न सक्नु पर्ने कुरा हुन र गर्न नसकिएको कुरामाथि प्रकाश पारे ।
हिजो एमाले र माओवादी केन्द्रसँगै हुनु र आज सँगै हुन नसक्नुमा सामाजिक अन्तरविरोधमा आएको परिवर्तन तथा उक्त परिवर्तनअनुसार नेता र पार्टीले सोच पुर्याउन नसक्नु नै मुख्य कारक रहेको संकेत गरे ।
तात्कालीन सत्ताधारी नेकपाले जनताका बीचमा गरेको बाचाअनुसार काम गर्न नसकेकाले पार्टीको हालत आजको अवस्थामा आएको र त्यो अझै पनि चुनौतीका रुपमा रहिरहेको पोखरेलले बताए ।