काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दल मिलेर मुलुकको संविधान बनाएकाले अब सबै मिलेर देश बनाउनुपर्ने बताएका छन् । चितवनको भरतपुरमा आयोजित नेकपा (एमाले) को दशौं महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताए । सो अवसरमा उनले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । “सबै मिलेर संविधान बनाएका हौं, अब देश बनाउन पनि सबै मिलेर अघि बढौं” उनले भने ।
कानुनी शासन, लोकतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनता र मुलुकको समृद्धिका लागि दलहरुको एउटै लक्ष्य हो र रहनुपर्छ उनले भने । प्रधानमन्त्री देउवाले भने, “हामीबीच नीतिगत विषयमा रहेका विमतिहरुलाई संविधानमार्फत निर्धारण गरेका विधिलाई सबैले स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ ।” हरेक समस्याको समाधान छलफल र संवादबाट हुने भन्दै उनले अध्यक्ष केपी शर्मा ओलीसित जेलमा पनि सँगै विताएकाले देश बनाउन पनि मिलेर अघि बढ्नुपर्ने बताए ।
देशको उपलब्धी, मूल्य र मान्यता स्थापित गर्नमा नेपाली काँग्रेस प्रतिवद्ध रहेको चर्चा गर्दै काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले देशका सबै नागरिकलाई कोभिड खोप पुर्याउने लक्ष्यसाथ काम सरकारले गरिरहेको बताए ।
देशमा सुशासन, लोकतन्त्र र पारदर्शीता कायम गर्न सरकार अघि बढिरहेको र अघि बढ्ने सबैमा विश्वास दिलाउँछु उनले भने ।