• जेष्ठ १४ २०८३, बिहीबार

कुटनीतिक आवरणभित्र पनपनाइरहेको तेस्रो विश्व युद्ध

जेष्ठ १४ २०८३, बिहीबार

इजरायली अतिक्रमण र युक्रेन युद्धका अतिरिक्त विश्व केही शान्त देखिएको आभाष भइरहेको छ अहिले । तर यो शान्तिको आवरणभित्र विश्वका अतिमहाशक्तिको भेटघाट र दौडधूपले निकै तिब्रता पाइरहेको छ । यसलाई ‘आँधी आउनु पूर्वको सन्नाटा’को रूपमा हेरिएको छ ।

यसभित्र रणनीतिक दाउँपेच र आपसी खिचातानीका लहरा एकपछि अर्को गरी फन्को लगाउँदै विश्वभर बेह्रिन थालेका छन् । को कसको पक्षमा भन्ने ध्रुवीकरणको परिवेशले सिङ्गो विश्व आकाश ढाकिसकेको छ ।

विश्वमा जहाँकहीँ रहेका रणनीतिक स्थान र नाका कब्जा गर्ने होड नै चलेको छ । हरेक देशमा आफू अनुकूलको सरकार निर्माणका लागि ‘डिप स्टेट’ स्थापना गर्ने र विद्रोह वा निर्वाचनमार्फत् सत्तारोहण गराउने खेलमा अमेरिका अग्रपङ्क्तिमा रहेको छ । तर चीन भने वैकल्पिक विश्व व्यवस्था निर्माणको खाकासहित सहअस्तित्व र सहकार्यको हातेमालोमा ढुक्कतासहित अघि बढिरहेको छ ।

अमेरिका, रूस र इजरायल बल प्रयोगको सीमासम्म अघि बढिसकेका छन् । अमेरिका आफ्नो वैश्विक बर्चस्व कायम रहेको देखाउन, इजरायल आफैले सिर्जना गरेको मुस्लिम सभ्यातासँगको दुस्मनी सामना गर्न र रूस ‘नेटो गठबन्धन’को अतिक्रमण रोक्न क्षेत्रीय युद्धमा संलग्न छन् ।

तर यी क्षेत्रीय युद्धले विश्व युद्धको आकार भने ग्रहण गरिसकेका छैनन् । यसको पछाडि विश्वका दुई अतिमहाशक्ति अमेरिका र चीनको बीचमा अझैंसम्म कुटनीतिक र मैत्री सम्बन्ध कायमै रहनुले काम गरिरहेको छ । यद्यपि कुटनीतिक दाउँपेच भने विश्व व्यापार मामलामा यी दुबैको निकै प्रतिस्पर्धी र तानातानको तातो झिरमा उनिदै र पाक्दै गइरहेको छ ।

अमेरिका चीनसँग प्रत्यक्ष भिड्न चाहँदैन । किनकि चीनलाई जित्न सक्ने सामर्थ्य अमेरिका एक्लैमा छैन । उता चीन अझै शान्तिपूर्ण प्रगतिको बाटोमा अघि बढ्न चाहिरहेको छ । चीनको प्रगति आकाशिँदो अवस्थामै छ । यही बेला चीन सबल हुन सक्नुमा उसको भलो छ ।

यो बेलामा अमेरिका र चीन एकअर्काको नाडी छाम्ने काम गरिरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिका भ्रमणको निम्तो यही नाडी छामाछामको कुटनीतिक दाउँपेचको सतही अभिव्यक्ति हो । गुरूत्वाकर्षणका कारण आकाशीय पिण्ड अडिए झैं वैश्विक शक्ति पनि एकअर्कामा आकर्षित र विकर्षित छन् । ट्रम्प वासिङ्टन फर्कने बित्तिकै मस्कोबाट पुटिन बेइजिङ झर्न कुनै आइतवार कुर्नु पर्दैन ।

सिङ्गो ब्रह्‌माण्डको खगोलीय अस्तित्व भनेको ठूलो पिण्डलाई मध्यम पिण्डले र मध्यम पिण्डलाई ससाना पिण्डले वरिपरि घुम्दै फन्को लगाउनु नै हो । यो बेलामा चीन वैकल्पिक विश्व व्यवस्थाको घोषणासहित अघि बढिरहेको छ । यसको सिधा अर्थ हो, चिनियाँ राजनीतिक पिण्ड अमेरिकी राजनीतिक पिण्डभन्दा ठूलो र बलशाली बन्दै गइरहेको छ ।

नवोदित चिनियाँ गुरूत्वाकर्षणलाई विफल पार्न अमेरिका आफ्नो प्रतिस्पर्धी चीनलाई क्षेत्रीय युद्धमा फसाइदिने, गृहयुद्धका तानाबाना बुनिदिने, छिमेकी वा प्रतिस्पर्धीलाई उच्याइमच्याइ गरिदिने, खुट्टा तान्ने, उच्च व्यापार कर लगाउने आदि नानाथरीका काममा जुटिरहेको छ ।

मियाकी जुती, मियाकी शर पर’ भनेझैं यता चीन अमेरिकाका यिनै कर्म र कुटलाई उल्टै अमेरिकाका लागि काउछो साबित हुने गरी पासा पलटको कुटनीति सफलतापूर्वक अघि सार्दै गइरहेको छ ।

पछिल्लो समयमा इरान युद्ध अमेरिकाका लागि निल्नु न ओकल्नु हुनुमा चीनको यही रणनीतिले काम गरेको पुष्टी हुन्छ । भेनेजुएलाका राष्ट्रपति मादुरोलाई ‘कमाण्डो अट्याक’ गरी बन्धक बनाएर अमेरिकी जेलमा सडाउन थालेको घटना ह्‌वाइट हाउसलाई ऐतिहासिक रूपमै महङ्गो साबित हुनेछ । यो पनि अमेरिकी महाशक्तिको ऐतिहासिक महापतनको एक घटना साबित हुन जाने निस्चित जस्तै छ ।

यति बेला अमेरिका, रूस, इजरायल, इरान आदि क्षेत्रीय युद्धमा सामेल रहे पनि चीनले युरोप, अफ्रिका, ल्याटिन अमेरिकासहितका विश्व शक्तिहरूसँग शान्तिपूर्वक वैकल्पिक विश्व व्यवस्थाको नेतृत्व गरिरहँदा अमेरिका–चीन सम्बन्ध भने शीतयुद्धको भूमरीमा मडारिइरहेको छ । यसले तेस्रो विश्वयुद्ध पूर्वको सन्नाटाको सङ्केत गरिरहेको छ ।

विश्व त अहिले यति गम्भीर मोडमा छ कि अमेरिका शान्तिपूर्ण रूपमा चीनलाई अतिमहाशक्तिका रूपमा स्वीकार गरेर आफू दोस्रो स्थानमा ओर्लन कुनै हालतमा तयार छैन । उता चीन अमेरिकालाई या त पहिलो स्थान शान्तिपूर्वक छोड्न नभए ‘जे आई लाग्छ, सोका लागि तयार रहन’ गम्भीर चेतावनी दिइरहेको छ ।

ट्रम्पको चीन भ्रमणका बेला सी जिन पिङले ‘डिनर हल’मा उठाएको ‘थुसिडाइसियन म्यानेजमेन्ट’ को तीतो सत्य पनि यही अभिव्यक्ति भित्र लुकेको छ ।