• भाद्र २१ २०८३, आईतवार

नेपाल–हंगेरी सम्बन्ध थप सुदृढ बनाउन जोड, मैत्री संघको ३०औँ साधारण सभा सम्पन्न

भाद्र २१ २०८३, आईतवार

काठमाडौं । नेपाल-हंगेरी मैत्री संघको ३०औँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। नेपाल र हंगेरीका जनताबीच मित्रता तथा सौहार्दपूर्ण सम्बन्धको विकास र सुदृढीकरण गर्दै दुई देशबीच सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले संघले साधारण सभा गरेको हो।

साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा हंगेरीका लागि नेपालका अवैतनिक महावाणिज्यदूत अरुणकुमार चौधरीले नेपाल र हंगेरीबीचको सम्बन्ध निकै मजबुत र मैत्रीपूर्ण रहेको बताए। आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै सामाजिक तथा सांस्कृतिक क्षेत्रमा मात्र नभई व्यापारिक क्षेत्रमा समेत सहकार्य विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

केही साताअघि रसुवामा आएको बाढी तथा प्राकृतिक विपद्को स्मरण गर्दै महावाणिज्यदूत चौधरीले जलवायु परिवर्तनका कारण नेपालले अप्रत्याशित विपद्को सामना गर्नुपरिरहेको बताए। जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् जोखिमबाट बच्ने उपायका विषयमा सबैको ध्यान जान आवश्यक रहेको उनको भनाइ थियो।

नेपालमा विभिन्न समयमा आइपरेका विपद्का अवस्थामा हंगेरी सरकारले सक्दो सहयोग गर्दै आएको उल्लेख गर्दै चौधरीले आगामी दिनमा पनि नेपालका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, संघका संस्थापक महासचिव, सामाजिक अभियन्ता तथा लेखक त्रिलोकसिंह थापामगरले नेपाल र हंगेरीबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गरे। हंगेरीका मग्यार समुदायले आफ्नो पुर्ख्यौली थलो र पुर्खाको खोजी गर्ने क्रममा मध्य एसियासँग सम्बन्धित तथ्यहरू फेला पारेको उनले बताए।

ऐतिहासिक पक्ष उल्लेख गर्दै थापामगरले वि.सं. २०५२ सालतिर नेपालका मगर र हंगेरीका मग्यार समुदायबीच पुर्ख्यौली सम्बन्ध रहेको विषयमा अध्ययन तथा अनुसन्धान गर्न हंगेरीकी मग्यार समुदायकी नेतृ सरोल्टा वोडाको नेतृत्वमा एउटा टोली नेपाल आएको जानकारी दिए।

नेपाल र हंगेरीबीचको सम्बन्धलाई सामाजिक तथा सांस्कृतिक क्षेत्रमा मात्र सीमित नराखी व्यापारिक क्षेत्रमा समेत नयाँ योजना र अवसर खोज्नुपर्नेमा उनले जोड दिए। नेपालमा आइपर्ने विपद्का समयमा हंगेरी सरकारबाट थप सहयोगका लागि हंगेरीका अवैतनिक महावाणिज्यदूत चौधरीमार्फत अपिलसमेत गरे।

कार्यक्रमको समापन गर्दै संघका उपाध्यक्ष तथा ३०औँ वार्षिक साधारण सभाका अध्यक्ष वरिष्ठ अधिवक्ता गौबहादुर आलेमगरले प्रमुख अतिथि चौधरीको सहभागिताप्रति आभार व्यक्त गरे। नेपाल–हंगेरीबीचको सम्बन्ध आजको मात्र नभई विगतदेखि नै मैत्रीपूर्ण र सहकार्यपूर्ण रहेको उल्लेख गर्दै उनले दुई देशबीचको सामाजिक, सांस्कृतिक, व्यापारिक, रोजगार तथा शैक्षिक सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र फराकिलो बनाउनुपर्ने बताए।

नेपाल र हंगेरीमा बसोबास गर्ने मगर तथा मग्यार समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउन दुवै देशबाट पहल हुनुपर्नेमा आलेमगरले जोड दिए। संघलाई अझ प्रभावकारी र व्यापक बनाउन आजीवन सदस्य बन्नसमेत उनले सबैलाई आह्वान गरे।

सभामा संघका महासचिव मित्रबहादुर रानामगरले वार्षिक प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदनमा नेपाल-हंगेरी मैत्री संघको ऐतिहासिक पृष्ठभूमि, उद्देश्य, संस्थागत संरचना, कोष तथा विगतदेखि हालसम्मका गतिविधिबारे जानकारी गराइएको थियो।

महासचिव रानामगरले दुई देशबीच वाणिज्य तथा व्यापारसम्बन्धी सेमिनार तथा गोष्ठी सञ्चालन, सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका लागि छलफल तथा परामर्श र नेपालका मगर तथा हंगेरीका मग्यार समुदायबीचको उत्पत्ति तथा विकासका विषयमा जातीय, भाषिक, सांस्कृतिक र जैविक निकटतासम्बन्धी अध्ययन–अनुसन्धानका लागि संघले पहल गर्दै आएको बताए।

साधारण सभामा संघका आजीवन सदस्य बनेका विभिन्न व्यक्तित्वलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा संघका उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता गौबहादुर आलेमगरले प्रमुख अतिथि अवैतनिक महावाणिज्यदूत अरुणकुमार चौधरीलाई मायाको चिनोसमेत प्रदान गरे।

कार्यक्रममा नेपाल प्रहरीका पूर्वआईजीपी कुबेरसिंह रानामगर, नारायणदास रञ्जित, मनबहादुर आले, रितु थापा, यामबहादुर थापा, प्रतिमाया पुनलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

साधारण सभा काठमाडौंको कपुरधारास्थित हटलेन्ड क्याफेमा सम्पन्न भएको हो। Pc By Roman Budha Magar