काठमाडौं । रसुवामा आएको प्राकृतिक महाविपत्तिमा परी ज्यान गुमाएका मानव तथा प्राणीहरूको चित्तको मुक्ति, शान्ति एवं सद्गतिको कामना गर्दै तीनदिने पूजा तथा दीप प्रज्वलन कार्यक्रम सोमबारदेखि सुरु भएको छ।

नेपाल बौद्ध शान्ति समाज, स्वयम्भू काठमाडौं, स्नोल्याण्ड रानाग स्कुल, बूढानीलकण्ठ काठमाडौं तथा नेपाल बोन बुद्धिष्ट महासंघ, बौद्ध काठमाडौंको आयोजनामा कार्यक्रम सुरु भएको हो।

बाढीमा परी ज्यान गुमाएका मानव तथा प्राणीहरूको चित्तको चिरशान्तिको कामना गर्दै अमिताभ बुद्धको पूजा तथा दीप प्रज्वलन तीन दिनेसम्म गरिने छ।

विपद्मा परेकालाई उद्धार, उपचार र राहतमा एकजुट हुन रिन्पोछेको आह्वान
कार्यक्रमका प्रमुख गुरु परमपावन टुल्कु रानाग रिन्छेन रिन्पोछे (डाेल्पाे बुद्ध)ले रसुवा बाढीको प्राकृतिक महाविपत्तिमा ज्यान गुमाएका सम्पूर्ण मानव तथा प्राणीहरूको चित्तको मुक्ति, शान्ति एवं सद्गतिको कामना गरे।

उनले विपद्मा परेका नागरिकहरूको उद्धार, उपचार तथा राहतका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए । विपद्मा परेकाहरूलाई सहयोग गर्न धन, मन र वचनले साथ दिनुपर्ने उनको भनाइ थियो।
रिन्पोछेले आम मानिसमा बुद्धको ज्ञान पर्याप्त रूपमा फैलाउन नसक्दा समाजमा पाप, हिंसा तथा अशान्ति बढ्ने गरेको बताए । बुद्धको ज्ञान र शिक्षालाई जनस्तरसम्म पुर्याउन सके शान्तिको मार्गमा अघि बढ्न तथा विपद्को सामना गर्ने चेतनासमेत विकास गर्न सकिने उनले बताए ।

कार्यक्रममा गुम्बा विकास समिति बचाउ नागरिक संघर्ष समितिले सहकार्य गरेको छ ।
कार्यक्रममा नेपाल बोन बुद्धिष्ट महासंघ,काे महासचिव इन्द्र रोकाय (शेराप) लगायतको सहभागिता रहेको थियो ।
आयोजकका अनुसार तीनदिने पूजा तथा दीप प्रज्वलन कार्यक्रम स्वयम्भूस्थित थेक्सुम छ्योफेलिङ गुम्बामा तीन दिनसम्म सञ्चालन हुनेछ।
कार्यक्रममार्फत रसुवा बाढीमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्ति तथा सद्गतिको कामना गरिनेछ । PC-ROMAN BUDHA MAGAR












