काठमाडौं l नबिल बैंकले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट सेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित बोनस सेयरको लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार बराबर र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार रुपैयाँ रकम रहेको छ। उक्त रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।
त्यसैगरी, बैठकले बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको अग्राधिकार सेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रहेको छ भने साधारण सेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार रुपैयाँ रहेको छ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकले हासिल गरेको वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा सेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले उक्त लाभांश प्रस्ताव गरिएको हो।
उक्त लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ।
नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो। बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २ सय ६३ शाखा सञ्जाल र ३ सय १५ एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ।
चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले हाल ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको छ।