• जेष्ठ ५ २०८१, शनिबार

तापक्रम बृद्धिसँगै नेपाल डढेलोको उच्च जोखिममा

चैत्र ३ २०८०, शनिबार

काठमाडौं । नेपालमा चैतदेखि जेठसम्म डढेलो बढ्ने अनुमान गरिएको छ । तापक्रम बृद्धि र लामो खडेरीका कारण यो वर्ष डढेलो लाग्ने जोखिम उच्च रहेको बिज्ञहरुको भनाई छ । डढेलो लागे पनि निभाउन सक्ने सम्भावना पनि कम रहेको विज्ञहरु बताउँछन् ।

डढेलो मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गर्छ । यो वर्ष प्राकृतिक कारणले डढेलोका घटना बढी हुने सम्भावना रहेको वातावरणविद् शिवलाल थापा बताउँछन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी गरी तीन महिना ‘विन्टर मनसुन’ हो । तर यो वर्ष ‘विन्टर मनसुन’मा पनि झरी पर्न सकेन । फागुनको पहिलो हप्ता देशको केही ठाउँमा वर्षा भए पनि पर्याप्त पानी पर्न सकेन । डढेलो लाग्ने सम्भावना बढेसँगै यसप्रति सजक रहनुपर्ने थापा बताउँछन् ।

कानूनी अस्पष्टता‚ जलवायु परिवर्तन‚ परम्परागत ज्ञान प्रयोगमा कमी लगायत कारणले नेपालमा डढेलोका घटना बढिरहेका छन् । लामो समय वर्षा नहुँदा ‘पीक सिजन’ नआउँदै देशका विभिन्न क्षेत्रमा डढेलो लागेको खबर आउन थालिसकेका छन्। सबैभन्दा धेरै पश्चिम तराईका जिल्ला प्रभावित छन् । कम जोखिम मानिएको हिमाली क्षेत्रमा पनि डढेलो लागेको छ। डढेलोको ‘पीक सिजन’ वैशाखको दोस्रो सातादेखि शुरू हुन्छ ।

वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ। जसबाट वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने अनुमान छ। नेपालमा हुने डढेलोका घटनामध्ये ८० प्रतिशतभन्दा बढी मध्यफागुनदेखि मध्यवैशाखसम्म भएको विभागले जनाएको छ। लामो खडेरी, उच्च वेगको हावाहुरी र अत्यधिक गर्मीका कारण उक्त अवधिमा डढेलोको उच्च जोखिम हुन्छ ।

कुन ठाउँ छ डढेलोको उच्च जोखिम ?
पछिल्लो १५ वर्षको तथ्यांक हेर्दा नेपालको मध्य क्षेत्र र पूर्वी क्षेत्रमा डढेलोको जोखिम उच्च देखिन्छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार उक्त अवधिमा काठमाडौंमा आगलागीका एक हजार ६९८ घटना रेकर्ड भएका छन् । काठमाडौंपछि सबैभन्दा बढी आगलागीका घटना हुने जिल्लामा क्रमशः मोरङ, सुनसरी, सप्तरी, झापा, सिराहा, धनुषा, बारा, सर्लाही, कपिलवस्तु र पर्सा रहेका छन् ।

यो वर्ष किन छ डढेलोको उच्च जोखिम ?
नेपालमा पछिल्ला दुई वर्षयता ठूलो र धेरै संख्यामा डढेलोका घटना भएका छैनन् । लामो खडेरीका कारण सुख्खायाम बढेकाले यो वर्ष डढेलोको जोखिम बढाएको हो । त्यस्तै यो वर्ष नेपालमा हिउँदे वर्षा राम्रोसँग भएन । हिउँदमा नेपालमा औसतमा जति पानी पर्नुपर्थ्यो यसवर्ष त्यसको मात्र २० प्रतिशत वर्षा भएको छ । छिट्टै वर्षा हुने सम्भावना देखिँदैन । यसले सुक्खापन एकदमै बढाएको छ ।

जल तथा मौसम विज्ञान विभागले गत माघमा एउटा रिपोर्ट सार्वजनिक गरेको थियो । रिपोर्टमा वर्ष सन् २०२३ झन्डै चार दशकयताकै सबैभन्दा धेरै तातो वर्ष भएको उल्लेख छ । सन् १९८१ यता सन् २०२३ कम वर्षा हुने वर्षहरूको सूचीको आठौँ नम्बरमा रह्यो ।

रिपोर्टअनुसार सन् २०२३ मा नेपालको वर्षभरिको औसत अधिकतम तापक्रम २७.९ डिग्री सेल्सियस मापन गरियो, जुन सामान्य वार्षिक अधिकतम तापक्रमभन्दा केही धेरै हो । यसको विपरीत सन् २०२३ मा वर्षको औसत न्यूनतम तापक्रम १५.६ डिग्री सेल्सियस मापन गरियो, जुन सामान्य वार्षिक न्यूनतम तापक्रमभन्दा धेरै हो ।

के हो डढेलोको कारण ?
विज्ञहरूका अनुसार डढेलो मानवीय क्रियाकलाप र प्राकृतिक प्रकोपका कारण लाग्ने गर्छ । डढेलोका घटनामध्ये ९६ प्रतिशत मानवीय कारण‚ १ प्रतिशत प्राकृतिक कारण हुने गरेको छ । ३ प्रतिशत डढेलोका कारण थाहा पाउन नसकिएको विज्ञहरू बताउँछन् ।

अस्ट्रेलियाको मोनास विश्वविद्यालयले गरेको एक अध्ययनले जलवायु परिवर्तनका कारण डढेलोका घटना बढिरहेको देखाएको छ । न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित लेखमा जलवायु परिवर्तनले इन्धन, अक्सिजन र आगोका स्रोतलाई मद्दत पुगिरहेको उल्लेख छ ।

यस्तै‚ जलवायुमा आएको परिवर्तनले वर्षाको ढाँचा परिवर्तन भइरहेको छ । खडेरी बढिरहेको छ। जसका कारण पनि डढेलोका घटना बढेका हुन्। जर्मन वाचले २५ जनवरी २०२१ मा प्रकाशित गरेको एक रिपोर्टले जलवायु परिवर्तनको असरका कारण नेपाल विश्वको नवौं जोखिमयुक्त देशमा पर्छ ।

गत वर्ष ६ वर्षयता कै उच्च तापक्रम

गत वर्ष सरदर वार्षिक अधिकतम तापक्रम ०.६ र न्यूनतम तापक्रम ०.५ डिग्री धेरै पुगेको छ । पछिल्लो ३० वर्ष (सन् १९९१ देखि २०२०) को औसतलाई आधार मानेर सरदर वार्षिक अधिकतम तापक्रम निकालिएको हो । जसमा ५५ स्टेसनको तापक्रम विश्लेषण गरिएको छ । समीक्षा वर्षमा तराई–मधेशमा औसत वार्षिक अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा धेरै रह्यो भने उच्च पहाडी भेगमा १८ डिग्री सेल्सियसभन्दा कम रहेको थियो ।

१२ स्टेसनमा दैनिक अधिकतम तापक्रमले रेकर्ड ब्रेक गरेको छ । जसमा बन्दीपुर, चतरा, चौतारा, धरान बजार, दुम्कौली, वीरेनचोक गोरखा, जनकपुर एयरपोर्ट, कन्याम टी स्टेट, ओखलढुंगा, रामपुर, सिमरा एयरपोर्ट र सिराहाका स्टेसन छन् । नवलपुरको दुम्कौली स्टेसनमा ९ जुन २०२३ मा ४४.८ डिग्री सेल्सियस तापक्रम मापन भएर रेकर्ड तोडेको छ । जब कि यो स्टेसनमा ५ जुन १९७९ मा अधिकतम ४३.७ डिग्री तापक्रम मापन भएको थियो ।