• जेष्ठ ५ २०८१, शनिबार

उपत्यकामा ‘ट्राफिक जाम’ले सास्ती, प्रहरीलाई पनि वेलैमा गन्तव्यमा पुग्न कठिन

श्रावण १ २०७९, आईतवार

काठमाडौं । सडकमा सरर गाडी गुड्न पाउँथ्यो भने जोरपाटीका विशाल श्रेष्ठलाई करिब सात किलोमिटर दूरीमा रहेको अनामनगरस्थित कार्यालय पुग्न बढीमा १५ मिनेट लाग्थ्यो ।

तर, चाबहिल–गौशाला–बानेश्वर रुटको ट्राफिक जाम छिचोलेर कार्यालय पुग्न कम्तीमा ४५ मिनेट लाग्छ । निर्माण व्यवसायमा संलग्न श्रेष्ठ चर्को जाम पार गरेर कार्यालय पुग्दासम्म काम गर्ने आधा ऊर्जा घटिसक्ने अनुभव सुनाउँछन् ।

‘सात किलोमिटर बाटो पार गर्न कम्तीमा ४५ मिनेट लाग्छ । जामकै कारण कतिपटक त टेन्डर नै गुमाउनुपरेको छ । निर्धारित समयमा बैठकमा सहभागी हुन नसकेका उदाहरण त कति छन् कति,’ उनले भने, ‘खासगरी गौशालामा लामो जाम पर्छ । तर, जाम सहेरै ओहोरदोहोर गर्नुको विकल्प छैन ।’

ओमकुमार श्रेष्ठ हलचोकमा बस्छन् । कामको सिलसिलामा उनलाई पुतलीसडक आइरहनुपर्छ । तर, केशरमहल चोकको ‘ट्राफिक जाम’ले सधैँ हैरान बनाउँछ । बिमा कम्पनीसँग आबद्ध उनले अनुभव सुनाए, ‘सात किलोमिटरभन्दा कम सडक पार गर्न ४५ मिनेट लाग्छ ।

केशरमहल चोकमा सबैभन्दा बढी जाम हुन्छ । कहिले त सोह्रखुट्टेदेखि नै जाम सुरु हुन्छ । ट्राफिक जामकै कारण कतिपटक ‘क्लाइन्ट’ गुमाउनुपरेको छ । कार्यालय प्रमुखबाट हप्की खानुपरेको छ ।’

कन्सल्टेन्सी व्यवसायमा आबद्ध रामचन्द्र ओली चाबहिल सरस्वतीनगरमा बस्छन् । व्यवसायको सिलसिलामा उनलाई भक्तपुर धाइरहनुपर्छ । उनका लागि कोटेश्वरको ‘ट्राफिक जाम’ सधैँ टाउको दुखाइ बन्छ ।

‘चाबहिलबाट भक्तपुर सधैँ आउजाउ गर्नुपर्छ । तर, कोटेश्वरको जामले समय र ऊर्जाको नास गरिदिन्छ,’ उनले भने, ‘घन्टौँ जाममा परे पनि अर्को बाटोको विकल्प छैन ।’

अनावश्यक विषयमा लिनुपर्ने तनावका कारण विदेश पलायनको सोच पलाए पनि पारिवारिक बाध्यताका कारण रोकिएको पनि उनले बताए । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।