वैसाख १, काठमाडौं । मगर समुदायका अगुवाहरुले नेपालका मगर जातिका मानिसहरु शासन सत्ताको पहुँचमा पुग्नको लागि अझै कसरत गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रिय समितिको काठमाडौंमा सम्पन्न पाँचौं महाधिवेशनको उद्घाटनसत्रमा महाधिवेशन सफलताको शुभकामना मन्तव्य राख्ने क्रममा बोल्ने सो समुदायका अगुवाहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा मगर समुदायको इतिहास लेखन तथा संकलनका अग्रज बमकुमारी बुढाले नेपालमा रहेको मगर समुदाय अति मिलनसार जाति रहेको बताउँदै आज यो जातिको इतिहासको रक्षा गर्नुपर्ने अवस्थामा आएकोले सबै मगर एकजुट हुनुपर्ने कुरामा जोड दिइन् ।
मगर जातिको इतिहासको इतिहासविद समेत रहेकी बुढाले ‘भोकाएको मानिस, मगर गाउँ गयस’ भन्ने कथन समाजमा अझै पनि रहेकोले यो जाति कति इमानदार र मानवियतासहितको जाति थियो भन्ने स्पष्ट हुने बताइन् ।
उनले मगर जाति आफ्नोे पेट भोको राखेर पनि अर्काको पेट भर्ने परोपकारी र त्यागी जाति भएको सुनाइन् । तर पनि सरकारी सुविधा पाउनेमा भने मगरहरुको स्थान निकै कम भएको उनको गुनासो रहेको छ । नेपाल मगर संघ केन्द्रिय समन्वय समितिलाई थप व्यवस्थित गरेर जानुपर्नेमा उनको जोड रहेको छ ।
सो अवसरमा बोल्दै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले अरु समुदाय जस्तै मगर समुदायको पनि हिजो राज्यसत्ता रहेको इतिहास सुनाउँदै आजको राज्यका सबै अंगहरुमा जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी तरिकाले प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।
नेपाल गणतान्त्रिक प्रणालीमा गएलगत्तै राज्यका सबै अंगहरुमा समानुपातिक समावेशी प्रणाली लागु हुने भएकोले आफूहरु पनि नेपाल मगर संघमा आवद्ध भएर सो कुरालाई थप प्रभावकारी बनाउन लागिपरेको बताए । मन्तव्यको क्रममा एक प्रसंगमा अध्यक्ष पुनले आफ्ना पुर्खाले देखाएको र खनेको बाटोमा हिंडेर मात्र उत्पीडित जातिको अस्तित्व जोगाउन र थप विकास गर्न सकिने भनाई राखे ।
सोही अवसरमा मन्तव्य राख्दै नेपाल मगर संघ सम्पर्क समन्वय केन्द्रिय समितिका निवर्तमान अध्यक्ष तथा सल्लाहकार होमराज खपाङ्गीमगरले आदिवासी जनजातिमध्ये सबभन्दा धेरै जनसंख्या भएको मगर, असली भूमिपुत्र भएर पनि पहिचान र राज्यबाट पाउनु पर्ने अधिकार पाउनको लागि अझै पनि संघर्ष गर्नु परिरहेको बताए ।
उनले मगर जातिका मानिसहरुलाई राज्यसत्ताबाट अधिकार दिलाउनकै लागि पहिचान स्थापित गर्न र अधिकार पाउने संघर्षको दौरानमा थुप्रै संघसंस्थाहरु खुलेका र यसै क्रममा सम्पर्क समन्वय समितिको पनि स्थापना भएको बताए ।
सोही अवसरमा बोल्दै साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरका महाप्रवन्धक किरणबाबु पुनले आफ्नो समुदायको पहिचानको रक्षा गर्ने आन्दोलनमा कमि नआवस् भनेर आफ्नो स्थानबाट खबरदारी गर्ने गरेको स्मरण सुनाए ।
महाप्रवन्धक पुनले जातिहरुको पहिचान मेटिए देशको राष्ट्रिय अस्तित्व मेटिने भएकोले आफूले यसरी खबरदारी गर्ने गरेको बताए ।
महाधिवेशनबाट पहिचान र सामुदायिक मुद्धाहरुलाई सबभन्दा माथि राखेर काम गर्ने नेतृत्व चयन हुनुपर्नेमा उनको जोड रहेको छ । मन्तव्यका क्रममा महाप्रवन्धक पुनले नेपालमा यहाँका जातिहरुको साँस्कृतिक पहिचान मेटाउने गलत राजनीतिक परम्परा बस्न थालेको भन्दै त्यतातिर पनि सबैले खबरदारी गर्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा मन्तव्य राख्दै नेपाल मगर संघ केन्द्रिय समन्वय समितिका सहअध्यक्ष गंगा खासुमगरले मगर समुदायको इतिहासको सत्यकथा सुनाउँदै विगतमा मगर समुदायको आफ्नै राज्यसत्ता रहेको र त्यसको आफ्नै आर्थिक र साँस्कृतिक प्रणाली रहेको भएपनि नेपाल एकीकरणको क्रममा सो राज्य गुमेको बताइन् ।
उनले मगर समुदायको राज्यको समयमा सबैलाई खुशी राखेको इतिहास रहेको पनि सुनाइन् । सो क्रममा उनले मगर समुदायको राज्य खोसिएसँगै मगर युवाहरुलाई बेचिनुपर्ने बाध्यता पनि आइपरेको दुखेसो पोखिन् । सो क्रममा उनले मगरहरुको भाषा र संस्कृतिमाथि पनि प्रतिबन्ध लगाइएको बताइन् । सहअध्यक्ष मगरले यही गुमेको अधिकार स्थापित गर्न र पहिचान, भाषा र संस्कृतिको रक्षा गर्न आज आफूहरु मगर संघमा आवद्ध हुनुपरेको बताइन् ।
सोही अवसरमा आफ्नो मन्तव्य राख्दै नेपाल मगर संघका केन्द्रिय सल्लाहकार कृष्णबहादुर थापामगरले मगर समुदायमा शिक्षाको चेतना विस्तार गर्न, सामाजिक रुपमा रहेको धरोहरहरुको संरक्षण गर्न, आर्थिक रुपमा मगरहरु पनि सम्पन्न हुनको लागि काम गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा मन्तव्य राख्दै नेपाल मगर संघका महासचिव टेकबहादुर नाम्जाली मगरले विभिन्न जातिहरुको जस्तै मगर जातिको पनि गुमेको पहिचान र अधिकार पुनस्थापित गर्न पहिले त मगरहरु एकढिक्का हुनुनपर्नेमा जोड दिए । उनले मगरहरुको विगत सुनाउँदै मगर भाषाबाट राखिएका नामहरु मेटाएर हिन्दुकरण गरिएकोले ती नामहरु र स्थानहरुका पहिचान पुनस्थापित गर्नुपर्नेमा जोड दिए ।
उनले पाल्पाको लसुन फल्ने ठाउँ, जसको मगर भाषामा आर्याक थियो पनि त्यो ठाउँलाई आर्यभञ्ज्याङ नाम राखिएको सुनाए । महासचिव नामजाली मगरले मगरात सभ्यतासहितको समृद्ध मगर समाज बनाउन मगर संघ लाग्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा बोल्दै नेपाल मगर संघका सहअध्यक्ष गंगा थापामगरले नेपाल मगर संघ सामाजिक संस्था भएकोले यो संस्थाले सामाजिक अधिकार प्राप्तिको मुद्धा उठाउनु र सामाजिक संस्थाहरु राजनीतिकरण हुन नहुनेमा जोड दिए ।
कार्यक्रममा नेपालका ५८ जिल्लामा सम्पर्क समन्वय समिति गठन गरिसकिएको जानकारी गराइएको छ । सो अवसरमा नेपाल मगर संघ धादिङ काठमाडौं सम्पर्क समन्वय समितिको मगर भित्तेपात्रो २०८३ सार्वजनिक गरियो । साथै महाधिवेशन सम्पन्न गर्न आर्थिक सहयोग गर्नेहरुलाई कदरपत्र प्रदान गरिएको छ । तस्वीर : राेमन बुढामगर । 