काठमाडौं । पार्टी कमिटीहरूमा ६० प्रतिशित युवा सहभागिता हुनुपर्ने माग राखेर नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा एकजना युवा अनसन बसेका छन् ।
नेकपाको केन्द्रीय कार्य संयोजनदेखि सेल कमिटीसम्म ४० वर्ष मुनिका युवाहरूलाई ६० प्रतिशत सहभागिता गराउनुपर्ने माग राखेर भुवनसिंह विष्ट अनसन बसेका हुन् ।
विष्ट भन्छन्, ‘मुखले युवा ल्याउनुपर्छ भन्ने तर व्यवहार त्यस्तो नभएपछि मैले पार्टीको ध्यानाकर्षण गराएको हुँ ।’ उनी तीन दिनदेखि अनसनमा छन् ।
पार्टीको विशेष महाधिवेशनको मिति सार्वजनिक गरी ३ महिनाभित्र महाधिवेशनका कार्यक्रमहरु सम्पन्न गरियोस् भन्ने उनको अर्को माग छ ।
केन्द्रीय पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिनुपर्ने, प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४० वर्ष मुनिका युवाहरुलाई उम्मेदवार नबनाउनु पार्टीको कमजोरी भएको विषय सार्वजनिक रुपमा स्वीकार गरिनुपर्ने माग राखेका छन् । साथै, पार्टीका सम्पूर्ण पदाधिकारीहरुको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गर्न पनि उनको माग छ ।