• बैशाख २३ २०८१, आईतवार

१४६औं लखन थापा स्मृति दिवस : मगर संघले स्मरण गर्यो सहिद लखन थापालाई

फाल्गुन २ २०७९, मंगलवार

काठमाडौं । नेपाल मगर संघ केन्द्रिय समितिले आफ्नो मुलघर काठमाडौंको कलंकीमा नेपालका प्रथम सहिद क्या.लखन थापाको प्रतिमामा माला र खादाले सम्मान गर्दै उनको स्मरण गरेको छ ।

सहिद थापाको १४६औं लखन थापा स्मृति दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी थापालाई स्मरण गरिएको हो । कार्यक्रमको सभापतित्व संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुनमगरको रहेको थियो भने कार्यक्रमको सञ्चालन संघका महासचिव टेकबहादुर नामजाली मगरले गरेका थिए ।

कार्यक्रममा मगर संघका भातृसंस्थाहरूका पदाधिकारीहरु उपस्थित थिए । समारोहमा सम्पर्क समन्वय केन्द्रिय समितिका अध्यक्ष झबिन्द्रबहादुर पुनमगरले सहिद लखन थापा, उनको योगदान र उनको जीवनी बारे जानकारी दिएका थिए । त्यसैगरी मगर महिला केन्द्रिय समितिको अध्यक्ष हिरुसरा रानामगरले लखन थापाबारे आफ्ना बुझाइहरु राखिन् ।

सो अवसरमा जीवन आलेमगरले पनि लखन थापाको जीवनीको बारेमा प्रस्ट पारे । आलेले लखन थापालाई सरकारले राष्ट्रिय विभूती घोषणा गर्नुपर्ने माग राखे ।