मान्म बजार । कर्णाली प्रदेशको कालिकोट जिल्ला, खाँडाचक्र नगरपालिका–११ बरातुकी ५२ वर्षीया तारा गिरी विगत तीन दशकदेखि निरन्तर कृषि क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी एक संघर्षशील तथा प्रेरणादायी महिला किसान हुनुहुन्छ। दुर्गम भौगोलिक अवस्था, सीमित स्रोतसाधन र सामाजिक चुनौतीका बाबजुद उहाँले आफ्नो मेहनत, धैर्य र दृढ इच्छाशक्तिका बलमा कृषिमा उल्लेखनीय पहिचान बनाउन सफल हुनुभएको छ।
तारा गिरीले वि.सं. २०५२ सालबाट फलफूलका नर्सरी र कृषि व्यवसाय सुरु गर्नुभएको हो। त्यो समय ग्रामीण क्षेत्रमा फलफूल खेतीलाई व्यवसायिक रूपमा गर्ने सोच धेरै कम मानिसहरूमा मात्र थियो। उहाँका श्रीमान् हरिचन्द्र गिरी रोजगारीको सिलसिलामा भारत जानुभएको थियो। त्यहाँ फलफूल र तरकारी खेती व्यवस्थित तरिकाले भइरहेको देखेर आफ्नै गाउँमा पनि यस्तो खेती गर्न सकिन्छ भन्ने प्रेरणा उहाँहरूलाई मिल्यो।
यही प्रेरणाबाट तारा गिरीले आफ्नो बारीमा विभिन्न फलफूलका बिरुवाहरू रोप्दै नयाँ यात्रा सुरु गर्नुभयो। सुरुवातमा उहाँले सुन्तला, ओखर, कागती जस्ता बिरुवाहरू रोप्नुभयो। जहाँ नयाँ प्रकारका फलफूलका बिरुवाहरू भेटिए पनि घर ल्याएर लगाउने उहाँको बानी थियो। बिस्तारै समयसँगै उहाँको बारी विभिन्न फलफूलका बिरुवाहरूले भरिएको सानो बगैचामा परिणत हुन थाल्यो।
यही प्रयासलाई व्यवस्थित रूप दिन उहाँले “जनचेतना निजी फलफूल नर्सरी” नामक कृषि फार्म स्थापना गर्नुभयो। तर सुरुवाती दिनहरू सहज थिएनन्। गाउँका धेरै मानिसहरूले खेतबारीमा रुख रोप्दा बाली लाग्दैन भन्दै आलोचना गर्ने गर्थे। खेती गर्ने जमिनमा फलफूलका रुख रोप्नु अनौठो काम जस्तो लाग्थ्यो। तर तारा गिरीले ती आलोचनाहरूलाई चुनौतीका रूपमा लिएर आफ्नो काम निरन्तर जारी राख्नुभयो।
वि.सं. २०५८ साल जेठ १३ गते उहाँले आफ्नो श्रीमानकाे नाममा रहेको कृषि फार्म आफ्नै नाममा दर्ता गर्नुभयो। त्यसपछि उहाँ जिल्लामा हुने विभिन्न कृषि तालिम, कार्यक्रम तथा सचेतनामूलक गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुन थाल्नुभयो। ती तालिमहरूले उहाँलाई नयाँ ज्ञान, सीप र आत्मविश्वास प्रदान गरे। सिक्दै र प्रयोग गर्दै जाँदा उहाँको बगैंचामा लगाइएका बिरुवाहरूले राम्रो उत्पादन दिन थाले।
तारा गिरीको परिवारमा सात जना सदस्य थिए। पाँच जना छोराहरूलाई हुर्काउनु, पढाउनु र परिवारको जिम्मेवारी सम्हाल्नु उहाँका लागि ठूलो चुनौती थियो। तर उहाँले खेतीपातीलाई नै आधार बनाएर परिवारको जीवनयापन अघि बढाउनुभयो। घरमा उत्पादन भएको फलफूल र तरकारी उहाँ आफैले डोकोमा बोकेर मन्मा बजारसम्म पुर्याएर बेच्ने गर्नुहुन्थ्यो। त्यही आम्दानीले परिवार चलाउनुका साथै छोराहरूलाई देशका विभिन्न सहरमा पढाउन सम्भव भयो।
आज उहाँको नर्सरी कालिकोट जिल्लामा एउटा महत्वपूर्ण कृषि स्रोतको रूपमा चिनिन्छ। उहाँको फार्ममा जिल्लामा विरलै पाइने विभिन्न फलफूलका बिरुवाहरू उत्पादन हुने गरेका छन्। जस्तै— सुन्तला, ओखर, कागती, नास्पाती, किवी, आरु, पुलाम, रुद्राक्ष, बुद्धचित्त, स्याउ, मेगाडामिया लगायतका विविध प्रजातिका बिरुवाहरू उहाँले उत्पादन गर्नुभएको छ।
यी बिरुवाहरू स्थानीय किसानहरूका लागि पनि महत्वपूर्ण स्रोत बनेका छन्। पहिले कृषि विकास कार्यालयले उहाँको नर्सरीबाट बिरुवाहरू खरिद गरेर किसानहरूलाई सस्तो दरमा वितरण गर्ने व्यवस्था थियो। यसले नर्सरी व्यवसायलाई प्रोत्साहन दिएको थियो। तर पछिल्लो समय यस्तो व्यवस्था घट्दै जाँदा उहाँको उत्पादनको बजार पनि कमजोर भएको उहाँ बताउनुहुन्छ। विशेषगरी कलमी फलफूलका बिरुवाहरू बिक्री हुन छोडेपछि उहाँले तयार पारेका हजारौं बिरुवाहरू हटाउनुपर्ने अवस्था समेत आएको थियो।
तारा गिरीका अनुसार पहिले बरातु क्षेत्रको अर्गानिक उत्पादन मन्मा बजारमा निकै लोकप्रिय थियो। उहाँ बजारमा उत्पादन लिएर पुग्नेबित्तिकै ग्राहकहरूले किन्ने होड चल्ने गर्थ्यो। तर पछिल्लो समय बजारको स्वरूप बदलिँदा उत्पादन बिक्री हुन कहिलेकाहीँ कठिन हुने अवस्था आएको उहाँको अनुभव छ।
कृषि व्यवसाय सञ्चालनका क्रममा उहाँले विभिन्न चुनौतीहरू पनि सामना गर्नुभएको छ। विशेषगरी सिँचाइको अभाव, मलखादको कमी र दुर्गम भौगोलिक अवस्था कृषिको विकासमा बाधा बनेका छन्। पहिले गाई–भैंसी पाल्दा खेतबारीका लागि पर्याप्त जैविक मल उपलब्ध हुन्थ्यो। तर अहिले पशुपालन घट्दा मलखादको समस्या पनि बढेको छ। यी सबै चुनौतीका बाबजुद पनि उहाँले कृषिप्रतिको आफ्नो विश्वास छोड्नुभएको छैन। कृषिमा अझ राम्रो सम्भावना देख्दै उहाँले आफ्नो कामलाई अझ विस्तार गर्ने प्रयास गरिरहनुभएको छ। हाल उहाँले सुर्खेत जिल्लामा पनि “जनचेतना निजी फलफूल नर्सरी” को शाखा सञ्चालन गर्दै भाडामा जग्गा लिएर खेती गरिरहनुभएको छ। साथै स्थानीय मजदुरहरूलाई रोजगारी प्रदान गरेर समुदायको आर्थिक गतिविधिमा पनि योगदान पुर्याइरहनु भएको छ।
तारा गिरीले आफ्नो उत्पादन र नवप्रयोगहरू विभिन्न कृषि मेला तथा प्रदर्शनीहरूमा पनि प्रदर्शन गर्नुभएको छ। सुन्तलाले फलेको हाँगा, खुर्सानीका बोट, काँक्रा तथा अन्य तरकारीहरू प्रदर्शन गर्दै उहाँले धेरैपटक प्रथम, द्वितीय र तृतीय पुरस्कार प्राप्त गर्नुभएको छ। कृषिमा निरन्तर योगदान पुर्याएबापत उहाँलाई जिल्लामा महिला किसान तथा उद्यमीका रूपमा विभिन्न सम्मान तथा पुरस्कारहरू प्रदान गरिएको छ।
साथै उहाँ नेपाल सरकार बाट उत्कृष्ट महिला उद्यमी पुरस्कारबाट समेत सम्मानित भइसक्नुभएको छ। महिला भएर कृषि क्षेत्रमा काम गर्दा कहिलेकाहीँ धेरै चुनौतीहरू सामना गर्नुपरेको अनुभव उहाँले सुनाउनुहुन्छ। तर मेहनत, धैर्य र आत्मविश्वासका साथ अघि बढेमा कुनै पनि चुनौती पार गर्न सकिन्छ भन्ने विश्वास उहाँको छ।
तारा गिरीको अनुभवमा नेपाल जस्तो कृषि सम्भावनायुक्त देशमा कृषिलाई सही नीति, प्रविधि र बजारसँग जोड्न सकियो भने ठूलो परिवर्तन सम्भव छ। उहाँको विचारमा युवाहरूलाई अवसर र प्रोत्साहन दिइयो भने कृषिले रोजगारी सिर्जना गर्न सक्छ र विदेश पलायन घटाउन सक्छ।
उहाँ भन्नुहुन्छ—
“कृषिमा ठूलो सम्भावना छ। यदि सरकारले राम्रो नीति र सहयोग गर्यो भने धेरै युवाहरू विदेश जानु पर्दैन। अर्काको देशमा दुःख गरेर काम गर्नु भन्दा आफ्नै देशमा मेहनत गरेर काम गर्नु नै राम्रो हो।”
दुर्गम कर्णालीको एउटा सानो गाउँबाट सुरु भएको तारा गिरीको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, ग्रामीण नेपालमा महिला किसानहरूको सम्भावना, संघर्ष र परिवर्तनको प्रतीक पनि हो। उहाँको कथा मेहनत, धैर्य र माटोसँगको सम्बन्धले कसरी जीवन र समुदायमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ।