• बैशाख २३ २०८१, आईतवार

बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय

माघ १० २०८०, बुधबार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पुरुषसँग नजिकिएर एकान्तमा बोलाउने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय भएको छ ।
बुढानीलकण्ठ नगरपालिका– ६ घर भएकी देवी थापालाई दोषी ठहर गर्दै ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको हो ।
थापाविरुद्ध दुई वर्षअघि दायर भएको आपराधिक लाभको एक मुद्दामा सोमबार न्यायाधीश श्यामलाल घिमिरेको इजलासले कैद र जरिवानासँगै उनीबाट पीडित पुरुषलाई सात लाख क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । त्यस्तै, युवतीका सहयोगी ललितपुर महालक्ष्मी नगरपालिका– ५ का सुदर्शन सापकोटालाई सात दिन कैद र एक हजार जरिवानाको फैसला सुनाइएको छ ।

प्रहरीकै एक कनिष्ट अधिकृतलगायत व्यक्तिले थापाविरुद्ध उजुरी दिएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंले ६ मंसिर ०७८ मा थापा र सापकोटालाई पक्राउ गरी मुद्दा चलाएको थियो । व्यक्तिगत लेनदेनको पैसा फिर्ता माग्दा थापाले बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङ गरेको पुष्टि भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो । जसमा अदालतले आंशिक ठहरको फैसला गरेको हो ।

विभिन्न व्यक्तिसँग नजिकिने, एकान्तमा भेट्न बोलाउने र पछि ब्ल्याकमेलिङ गरेको उजुरी युवतीविरुद्ध थियो । एक ठेकेदार, प्रहरी कर्मचारी तथा सहकारीका कर्मचारीलाई उनले ब्ल्याकमेलिङ गरेकी थिइन् । एक व्यक्तिविरुद्ध भने जबर्जस्तीकरणी मुद्दामा जाहेरी नै दिएर पक्राउ गराएकी थिइन् । जसमा ती व्यक्तिले सफाइ पाएका थिए ।

धनाढ्य पुरुषसँग नजिकिने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङका घटना बढिरहेका छन् । यस्ता घटनामा प्रहरीले कैयौँलाई पक्राउ गरेर मुद्दा दायर गर्दै आएको छ ।