• बैशाख २२ २०८३, मंगलवार

कांग्रेस : महानगर र उपमहानगरका उम्मेदवार तोक्ने जिम्मा सभापति देउवालाई

बैशाख ११ २०७९, आईतवार

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय संसदीय समितिले सभापति शेरबहादुर देउवालाई महानगर र उपमहानगरका उम्मेदवार तय गर्ने जिम्मेवारी दिएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको पहिलो बैठकले महानगर र उपमहानगरका उम्मेदवार तय गर्ने जिम्मेवारी दिएको हो।

संसदीय समिति सदस्य तथा सहमहामन्त्री जीवन परियारले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख तथा पोखरा, भरतपुर र वीरगञ्ज उपमहानगरपालिकाको उपप्रमुखको उम्मेदवार टुंगो लगाउने जिम्मा सभापतिलाई दिइएको जानकारी दिए।

पाँच दलीय गठबन्धनबीचको सहमतिअनुसार कांग्रेसले ६ मध्ये काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकामा प्रमुख र ११ मध्ये ७ उपमहानगरपालिका प्रमुखहरुको उम्मेदवार तोक्नुपर्ने छ।

आइतबार नै बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट कांग्रेसले संसदीय समिति गठन गरेको थियो।

समितिमा केन्द्रीय कार्यसमितिका सभापति केन्द्रीय संसदीय समितिका सभापति र महामन्त्री केन्द्रीय संसदीय समितिको महामन्त्री हुनेछन्।

केन्द्रीय कार्यसमितिका पदाधिकारी केन्द्रीय संसदीय समितिका पदेन सदस्य हुनेछन्। केन्द्रीय सदस्यमध्येबाट केन्द्रीय सभापतिले प्रस्ताव गरी केन्द्रीय कार्यसमितिले अनुमोदन गरेका बढीमा ११ जना सदस्य रहन्छन्।

तर, कार्यसम्पादन समिति बैठकमा सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलको नाममात्रै संसदीय समिति सदस्यमा सिफारिस गरेका थिए।