काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा महिला तथा समावेशी सहभागितालाई पनि ध्यानमा राख्न दलहरुलाई आग्रह गरेको छ।
आयोगले आइतबार एक विज्ञप्ती जारी गर्दै निर्वाचनका लागि वैशाख ११ र १२ गते हुने उम्मेदवारको मनोनयन दर्ता गर्दा संविधानको धारा ३८ को उपधारा ९४० मा भएको राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने कुरालाई ध्यानमा राख्न आग्रह गरेको छ।
राजनीतिक दलहरुले पार्टीबाट एक मात्र उम्मेदवार उठाउँदा प्रमुख र उप्रमुख पदमै पुरुष हुने सम्भावना देखिएपछि आयोगले यस्तो आग्रह गरेको हो। साथै धारा ४२ को सामाजिक न्यायको हक कार्यान्वयनमा विशेष संवेदशील हुन आग्रह गर्दै आयोगले निर्वाचनमा महिला तथा समावेशी सहभागिता र प्रतिनिधित्वको दृष्टिले उल्लेखनिय हुने विश्वास व्यक्त गरेको छ।
वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता भएसँगै वैशाख १२ गते मनोनयपत्र दर्ता भएका उम्मेवारको सूची प्रकाशन गर्ने, १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्रको जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरि निर्णय गर्ने, वैशाख १५ गते मनोनय भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।