• आश्विन २७ २०८३, मंगलवार

मगर भाषा, संस्कृति र पहिचान संरक्षणमा मगर भेजा समाजको जोड

आश्विन २६ २०८३, सोमबार

मगर भेजा समाजको त्रैमासिक बैठक तथा दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं । मगर भेजा समाज नेपाल, काठमाडौंको त्रैमासिक बैठक तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले काठमाडौंको मनमैजुस्थित इन्द्रायणी पुलनजिक रहेको एन्जल्स स्पोर्ट्स एकेडेमीमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागी वक्ताहरूले मगर समुदायको भाषा, धर्म, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले सामाजिक एकता र सहकार्यबाट मात्रै समुदायका समस्या समाधान गर्न सकिने धारणा राखेका थिए।

कार्यक्रममा एन्जल्स हार्ट फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुनले विजया दशमीको शुभकामना व्यक्त गर्दै मगर समुदायले आफ्नो भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि एकजुट हुनुपर्ने बताए। पुर्खाले आर्जन गरेका संस्कृति र संस्कार नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने उल्लेख गर्दै उनले मौलिक पहिचान जोगाउने जिम्मेवारी युवा पुस्ताले पनि लिनुपर्ने धारणा राखे।

त्यसैगरी, वरिष्ठ अधिवक्ता तथा मगर भेजा समाज नेपालका सल्लाहकार गौबहादुर आलेले मगर समुदायमा दशैं मनाउने र नमनाउने दुवै खालका मान्यता रहेको बताए। नेपाल मगर संघले दशैंलाई मगर समुदायको मौलिक पर्वका रूपमा नलिएको विषय उल्लेख गर्दै उनले समुदायभित्र धार्मिक आस्था र चाडपर्व मनाउने विषयमा विविधता रहेको बताए।

आलेले मगर समुदायमा धार्मिक स्वतन्त्रता र व्यक्तिगत छनोटको विषय महत्त्वपूर्ण रहेको उल्लेख गरे। नेपाल मगर संघले २०५५ सालमा मगरहरूको धर्म बौद्ध भएको र दशैंलाई क्रमशः परित्याग गर्दै जानुपर्ने निर्णय गरेको प्रसंग उल्लेख गर्दै उनले कतिपय मगरहरूले भने आफ्नो इच्छाअनुसार दशैं मनाउन पाउनुपर्ने धारणा राख्दै आएको बताए।

भेजा समाजका कानुनी सल्लाहकार अधिवक्ता खेमबहादुर थापाले दशैंलगायतका चाडपर्व सभ्य, मर्यादित र अरूलाई असर नपर्ने गरी मनाउनुपर्ने बताए। चाडपर्वको नाममा मदिरा सेवन गर्नैपर्छ भन्ने सोच त्याग्नुपर्नेमा जोड दिँदै उनले सबैको भावना र सामाजिक सद्भावलाई सम्मान गरेर पर्व मनाउन आग्रह गरे।

देशमा विपद् तथा विभिन्न समस्यामा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक संस्थाहरूको महत्त्वपूर्ण दायित्व भएको उल्लेख गर्दै उनले सहयोग र सहकार्यको संस्कृतिलाई निरन्तरता दिनुपर्ने बताए।

मगर भेजा समाजका सल्लाहकार सूर्य गेलाङ मगरले समाजको महत्त्वबारे चर्चा गर्दै एकताबद्ध भएर अघि बढ्दा सामूहिक समस्या समाधान गर्न सहज हुने बताए। लामो समयदेखि समाजमा आबद्ध भएर सदस्यहरूको सुखदुःखमा साथ दिँदै आएको उल्लेख गर्दै उनले विभिन्न क्षेत्रमा दक्ष तथा सक्षम व्यक्तिहरूलाई संस्थामा आबद्ध गराएर समाजलाई थप सशक्त बनाउनुपर्ने बताए।

उनले मगर समुदायका आवाजलाई राज्यले पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको धारणा राख्दै समुदायको हकहित, पहिचान र अधिकारका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

मगर भेजा समाज नेपालका कार्यवाहक अध्यक्ष खिमबहादुर थापाले समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको परम्परागत संस्था ‘भेजा’ आपसी सहयोग, सद्भाव र एकताको महत्त्वपूर्ण आधार भएको बताए।

उनका अनुसार मगर समुदायको प्रथाजनित कानुन, सामाजिक व्यवस्था तथा सामूहिक निर्णय प्रक्रियासँग सम्बन्धित भेजा प्रणालीले समुदायका सदस्यबीच आर्थिक, सामाजिक र सांस्कृतिक सहकार्यलाई प्रवर्द्धन गर्दै आएको छ।

मगर भाषामा ‘भेजा’ भनेर चिनिने यस परम्परागत प्रणालीलाई विभिन्न स्थानमा गुठ, तिसर वा झोम्जे जस्ता नामले समेत चिनिने गरेको उनले बताए। गाउँघरमा सामूहिक निर्माण कार्य, पूजाआजा, चाडपर्व, रीतिरिवाज तथा अन्य सामाजिक कार्य सञ्चालन गर्दा समुदायका घरधुरीबाट आर्थिक तथा भौतिक सहयोग जुटाउनु भेजा प्रणालीको प्रमुख विशेषता रहेको थापाको भनाइ थियो।

थापाले परम्परागत भेजा प्रणालीको संरक्षण तथा प्रवर्द्धनसँगै आधुनिक संस्थागत स्वरूपमा मगर भेजा समाज गठन गरी विभिन्न गतिविधि सञ्चालन गरिँदै आएको बताए। मगर समुदायको इतिहास, भाषा, लिपि, कला, संस्कृति तथा परम्पराको संरक्षण गर्नुका साथै नयाँ पुस्तामा आफ्नो मौलिक पहिचानप्रति जागरूकता बढाउनु संस्थाको प्रमुख उद्देश्य रहेको उनले स्पष्ट पारे।

मगर समुदायको एकता, पहिचान र सांस्कृतिक निरन्तरतासँग जोडिएको भेजा प्रणालीलाई संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्नु समुदायका अगुवा, सामाजिक संस्था तथा नयाँ पुस्ताको साझा जिम्मेवारी भएको उनले बताए।

यसैगरी, हाल अमेरिकामा रहेकी मगर भेजा समाजकी अध्यक्ष तथा पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) पार्वती थापा मगरले पनि सबै नेपालीलाई विजया दशमीको शुभकामना व्यक्त गरिन्। उनले मगर समुदायले आफ्नो भाषा, धर्म र संस्कृतिलाई जगेर्ना गर्दै मौलिक पहिचान र अस्तित्व कायम राख्न एकजुट हुनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा समाजकी महासचिव तारा थापा मगरले सहजीकरण गरेकी थिइन् भने सचिव तकबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा मगर कला र संस्कृतिसँग सम्बन्धित कौडा नृत्यसमेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा समाजसेवी यामबहादुर रानामगर, वरिष्ठ पत्रकार धन बहादु मगर, कृषिटिभीका प्रमुख कार्यकारी अधिकृत नारायणी थापा, गोल टिभीका सम्पादक दीपा आले, गोलखबर मिडियाका क्यामेरापर्सन प्रमुख रोमन बुढामगरलगायतको उपस्थिति रहेको थियो।

मगर भेजा समाज नेपाल, काठमाडौंले सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। Photo by Roman Budha Magar