• बैशाख २१ २०८३, सोमबार

मेलम्ची खानेपानी आयोजनाका संरचना डुबानमा

असार २ २०७८, बुधबार

सिन्धुपाल्चोक । अविरल वर्षाले मेलम्ची नदीमा बाढी आउँदा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरु डुबानमा परेका छन् ।

बाढीका कारणले अहिले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने प्रारम्भिक अनुगमनबाट विस्तृत जानकारी आउन नसकेको आयोजनाले जनाएको छ । त्यहाँका स्थायी संरचना पानीभित्रै भएपनि आफ्नै ठाउँमा भएको र अहिलेसम्म संरचनामा धेरै क्षति भएको नदेखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार हेलिकोप्टरबाट खिचेको फोटोमा संरचना नभत्केको पाइएको छ । नदी बढेकाले ‘हेडवर्क्स्’ लगायत संरचना अहिले पानीमुनि रहेका छन् ।

आयोजनामा निर्माणस्थलमा कार्यरत केही बेपत्ता भएको र केही घाइते भएको जानकारी आएको प्रवक्ता पन्तको भनाइ छ । निर्माण कम्पनीका कति कर्मचारी बेपत्ता भए वा कति घाइते भन्ने यकिन नभएकाले बुझ्ने प्रयास भइरहेको आयोजनाले जनाएको छ । घाइतेहरुलाई उद्धार गरी उपचारका लागि धुलिखेल र काठमाडौं पुर्‍याएको छ ।

अत्याधिक वर्षाका कारण नदीको तह बढेको भए पनि त्यहाँ रहेका संरचनाको बाढी आउनुमा भूमिका नभएको आयोजनाले जनाएको छ । कतिपय स्थानीयबासीमा सुरुङ परीक्षण शुरु गरेकै दिनबाट बाढी गएकाले पनि आयोजनाको पानी मेलम्ची नदीमा खसालेको भनाइ छ । प्रवक्ता पन्तले चाहिँ आयोजनाको मेलम्चीपट्टिको ढोका बन्द गरिएको र सुन्दरीजलबाट पानी खाली गरिएको जनाएका छन् ।