झापा । झापामा एक पुरुषले आफुले पालेको गाईको मृत्यु भएपछि काजकिरिया गरेका छन् ।
आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरहेका हुन् ।
उनी गाई मरेको दिनदेखि विधिपूर्वक किरियापुत्री बनेका हुन् । उनले पालेको लहिनो जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो ।
पहिलो बेतको उक्त गाईको मर्ने बेलामा दाम्लो खोलिएको थिएन । दाम्लो नखोलिएका गाई मर्दा मानिसको मृत्युसरह काजकिरिया बार्ने हिन्दू चलन छ ।
“हिन्दू धर्ममा गाईलाई आमाको रुपमा पूजिन्छ । धर्म र करकापले किरिया बारेको नठानिदिनुहोला,” उनले भने– “जन्म दिने आमाको दुध बढीमा दुई वर्षसम्म खाइन्छ । गौमाताको दुध जीवनभर खाने गरिन्छ । मनैदेखि श्रद्धा जागेको हुँदा दश दिने काजकिरिया गरिरहेको हुँ ।”