काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागिरहेको नेपाल बार एसोसिएसनले आज पनि धर्ना दिएको छ ।
जारी आन्दोलन अन्तर्गत आजको धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कानुन व्यवसायीहरूले केही दिन अघि भएको प्रहरी धरपकडको विरोध जनाएका छन् ।
उनीहरूले बार अध्यक्षसहितका वकिलमाथि भएको आक्रमण कानुनमाथिकै आक्रमण भनेका छन् । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रहरी बन्दुक ल्याएर नआउने बताए ।
आन्दोलनमा गम्भीर घाइते भएका बारका केन्द्रीय सदस्य प्रकाश महर्जनले आफूमाथि सुनियोजित रूपमा आक्रमण भएको बताएका छन् ।
मानव अधिकार आयोगकी पूर्व सदस्य मोहन अन्सारीले सर्वोच्च अदालत युद्ध मैदान नभएको बताउँदै यस घटनाको जवाफ प्रधानमन्त्री र राजनीतिक दलहरूले दिनुपर्ने माग गरेकी छन् । ‘यहाँ कलम र बुद्धिले काम गर्छ । कुनै गन र सर्ट-गनले काम गर्दैन’ उनले भनिन्, ‘तपाईँले गरेका संविधान र मानव अधिकार उलङ्घनको जवाफ तपाईँले दिनुपर्छ।’
भोलि १० बजेदेखि ५ बजेसम्म सर्वोच्च परिसरमै विरोधको कार्यक्रम हुने बताइएको छ ।