काठमाडौं । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीसँग जोडिएका छाङरु र टिंकरमा जनगणना सम्पन्न भएको छ । भारतले गणकलाई त्यहाँ जानका लागि बाटो नदिए पनि नेपालकै भूभागको बाटो प्रयोग गरेर गणकहरु त्यहाँ पुग्न सफल भएपछि ती दुई गाउँमा जनगणना सम्पन्न हुन पुगेको हो ।
यी दुई गाउँको जनगणनाले नेपालले आफ्नो सार्वभौम सत्ताको रक्षा गर्न सक्छ भन्ने स्थानीय जनतामा आशा ल्याइदिएको छ । स्थानीय जनताले भारतसँग कुटनीतिक वार्तामार्फत् लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या समाधान गर्न नेपालले ढिला गर्न नहुने सन्देश पनि यसैमार्फत् दिएका छन् ।
नेपाली आफै पनि अप्ठ्याराहरुसँग जुध्दै र समस्याको सकारात्मक रुपमा सामना गर्दै आएका छन् । सजिलो बाटो भएर जान भारतले अनुमति नदिएपनि व्यास गाउँपालिका–१ अन्तर्गतका छाङरु र टिंकर गाउँमा जनगणना सफल भएको छ ।
जनगणनापछि फर्कदा केही गाह्रो हुने भएकाले हेलिकोप्टरको व्यवस्था हुन सके केही सहज हुने गणकहरुको आशा देखिएको छ । जाँदा बाटोमा धेरै पहिरो र भीरपाखा भए पनि नेपालीहरुको मन र मनोविज्ञान एकाकार रहेकाले गणक समयमै त्यहाँ पु्गेका थिए ।
सानो गोरेटो बाटोमा ‘कान्छाले कान्छीलाई लग्यो, भीरको बाटो लाल्टिनै बालेर’ भन्ने गीत स्मरण गरेझैं गरी उनीहरु मन, सुर, तालका भावनात्मक छालहरुमा पौडदै त्यहाँ पुगन सफल भएका थिए । दुम्लिङ भनिने गाउँभन्दा माथि मानिसहरु नै नपुगेका र नहिंडेकाले आफै बाटो खोज्दै र बनाउँदै गणक टिम यी गाउँमा पुगेको थियो ।