• मंसिर १५ २०८१, शनिबार

मिडियामा विदेशी लगानी कानून विपरित हो : श्रमजीवी पत्रकार संघ

मंसिर ५ २०७८, आईतवार

काठमाडौं । श्रमजीवी पत्रकारहरुको छाता संगठन श्रमजीवी पत्रकार संघ नेपालले भारतीय योगगुरु रामदेवले नेपाली कानूनले बन्देज लगाएको आमसंचार क्षेत्रमा गरेको लगानी फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रविधि हस्तान्तरण ऐन–२०७५ ले पत्रकत्रिका, रेडियो, टेलिभिजन र अनलाइनमा विदेशी लगानी बन्देज लगाएको भएपनि यादवको लगानीमा दुईवटा टेलिभिजन च्यानल उद्घाटन गरिएकोमा संघले विरोध समेत जनाएको छ । रामदेवको लगानी रहेको भारतको हरिद्वारस्थित पतञ्जली आयुर्वेदले नेपालमा लगानी रहेका दुईवटा टिभी च्यानलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

रामदेवले भारतमा संचालन भइरहेका टिभी च्यानको नामको पछाडि ‘नेपाल’ थपेर ‘आस्था’ र पतञ्जली नेपाल नामका दुईवटा टिभी च्यानल नेपालमा संचालमा ल्याएका हुन् । संघका अध्यक्ष जन्मदेव जैसी र महासचिव धनञ्जय बुढाले आइतबार विज्ञप्ति जारी गरेर कानूनको धज्जी उठाउँदै आमसंचार क्षेत्रमा भारतीय लगानी र दर्ता नभएका टिभी च्यानल प्रधानमन्त्रीले उद्घाटन गर्नु आपत्तिजनक विषय भएको समेत बताएका छन् ।

आमसंचार नीति २०७३ मा भौतिक पूर्वाधारको क्षेत्रमा ४९ प्रतिशत विदेशी लगाउन मात्र पाउने व्यवस्था गरिएको थियो । तर, २०७५ मा ल्याइएको ऐनमा सञ्चार क्षेत्रमा कुनैपनि विदेशी लगानीलाई पूर्ण रूपमा निषेधित गरिएको छ । भारतीय लगानीमा कानूनले बन्देज लगाएको क्षेत्रमा दर्ता बिनै टिभी च्यानलको प्रधानमन्त्रीले गर्नु आपत्तिजनक कुरा हो ।

यसको हाम्रो संगठन घोर विरोध जाहेर गर्दछ । आमसंचार क्षेत्रमा विदेशी लगानीले नेपालको सार्वभौमिकतामाथि समेत धावा बोल्ने भन्दै विज्ञप्तिमा तत्काल लगानी फिर्ता नगरे संघले चरणवद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिइएको छ ।