काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरु आन्दोलनरत भइरहदा पोखरामा हुने अखिल नेपाल राष्ट्रिय कानुन व्यवसायी सम्मेलन काठमाडौंमा सारिएको खबर बाहिर आएको छ ।
आन्दोलनरत नेपाल बार एशोसिएशनको आन्दोलन कमजोर बन्दै गएको छ भने इजलास बहिष्कार गर्दै आएका अधिकांश न्यायाधीशहरु काममा फर्किन थालेको र धमाधम मुद्दाको सुनुवाई गर्न थालेपछि दिन प्रतिदिन कानून व्यवसायीहरुको संख्या घट्न थालेको भन्दै कसरी आन्दोलनलाई सशक्त बनाउने भन्दै नयाँ रणनीति बुनेका छन् ।
बारनिकट उच्च स्रोतले बताएअनुसार बारका पूर्व अध्यक्ष शम्भु थापाको निर्देशनमा पोखरामा मंसिर २४, २५ र २६ गते हुने भनिएको राष्ट्रिय कानून व्यवसायीहरुको सम्मेलन काठमाडौं सार्न लागिएको छ ।
यसको सम्पूर्ण तयारी भैसकेको छ । उक्त सम्मेलनमा देशभरिबाट तीन हजार कानून व्यवसायीहरु भेला हुने भनिएको छ । तीन हजार कानून व्यवसायीहरु एकसाथ आन्दोलनमा उत्रिँदा आन्दोलनले उचाई लिने नत्र आन्दोलन तुहिने खतरा रहेकोले पोखराको राष्ट्रिय सम्मेलन काठमाडौं सारिएको स्रोतको दाबी छ ।