• मंसिर १५ २०८१, शनिबार

कानुन व्यवसायीहरुमाथि अनावश्यक बल प्रयोग नगर : आयोग

मंसिर २ २०७८, बिहीबार

काठमाडौँ। । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतमा आन्दोलनरत कानुन व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गरी कानून व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएको भन्दै अनावश्यक बल प्रयोग नगर्न आग्रह गरेको हो ।

आयोगले घाइतेहरुको निशुल्क उपचार गर्न तथा घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह समेत गरेको छ।

यस्तो छ आयोगको विज्ञप्ति :

प्रेस विज्ञप्ति
२ मंसिर, २०७८
प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरुमाथि नेपाल प्रहरीले लाठी प्रहार गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सहित अधिवक्ताहरु प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिलचन्द्र पोखरेल घाइते भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाल बार एशोसिएसनको नेतृत्वमा भइरहेको कानून व्यवसायीहरुको आन्दोलनको आयोगले मानव अधिकारको दृष्टिकोणबाट निरन्तर अनुगमन गरिरहेको छ । आयोगका मानव अधिकार अधिकृतहरुको टोलीले आज सर्वोच्च अदालत पुगी घटनाको स्थलगत अनुगमन गर्नुका साथै अन्नपूर्ण न्यूरो अस्पताल माइतिघरमा पुगी घाइतेको स्वास्थ्य अवस्था सम्बन्धमा जानकारी लिएको छ ।

प्रहरीको लाठी प्रहारबाट नेपाल बार एशोसिएसनका केन्द्रीय सदस्य प्रकाश महर्जनको देबे्र काँध, कोखा र छातीमा चोट लागेको र खुट्टामा क्र्याक देखिएको निजको उपचारमा संलग्न चिकित्सकको भनाई रहेको छ ।

संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा २०, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ को धारा २१ र नेपालको संविधानको धारा १७ ले बिना हातहतियार शान्तिपूर्वक भेला हुने तथा स्वतन्त्र रुपमा विचार तथा अभिव्यक्ति राख्न पाउने हकको सुनिश्चितता गरेको छ ।

अतः कानून व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएकोले शान्तिपूर्ण आन्दोलनमा रहेका कानून व्यवसायीहरुमाथि अनावश्यक बल प्रयोग नगर्न, घाइतेहरुको निशुल्क उपचार गर्न तथा घटनाको छानविन गरी दोषी देखिएकालाई कानूनी कारवाहीको दायरामा ल्याउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।
……………………….
डा. टीकाराम पोखरेल
प्रवक्ता