• मंसिर १५ २०८१, शनिबार

प्रधानन्यायाधीशले राजीनामा नदिँइ आन्दोलन रोकिँदैन : नेपाल बार

मंसिर २ २०७८, बिहीबार

काठमाडौँ। नेपाल बार एसोसिएसनले कुनै पनि बहाना र शर्तमा प्रधानन्यायाधीशको राजीनामा नभई आफूहरुको आन्दोलन नरोकिने स्पष्ट पारेको छ।

बिहीबार आकस्मिक रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा विज्ञप्ति जारी गर्दै बारले प्रधानन्यायाधीशको राजीनामा अडान दोहोर्‍याएको हो।

आफूहरुको शान्तिपूर्ण प्रदर्शनका क्रममा सर्वोच्च अदालत परिसर भित्र दंगा प्रहरीद्वारा वर्वरतापूर्ण आक्रमण भएको विज्ञप्तिमा जनाइएको छ।

‘भ्रष्टाचार, असक्षम र नैतिकता विहीन कार्यमा संलग्न प्रधानन्यायाधीशको राजीनामा माग गर्दै भइरहेको शान्तिपूर्ण पूर्व निर्धारित कार्यक्रममा यस अघि नै दंगा प्रहरी प्रवेश गराइएकोमा आज पहिलो पटक दंगा प्रहरीका साथ एसएलआर जस्तो युद्धको वेलामा प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्धमैदान वनाउने कार्यको हामी घोर भत्र्सना र निन्दा गर्दछौँ,’ अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अदालत परिसरलाई युद्ध मैदान वनाउन अनुमति दिने प्रधानन्यायाधीश र अदालत प्रशासनको यस्तो हर्कतले हामीलाई स्तब्ध वनाएको छ। अदालत युद्धमैदानमा परिणत भएको यो अवस्थामा न्यायप्रशासन र न्याय सम्पादन सुसञ्चालन गर्न सकिने कल्पना पनि गर्न सकिँदैन।’

प्रहरीको आक्रमणबाट नेपाल बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ सामान्य घाइते भएको र बारका केन्द्रीय सदस्य अधिवक्ता प्रकाश महर्जन टाउकोमा गम्भिर चोट लागि अस्पताल भर्ना भएको विज्ञप्तिमा जनाइएको छ।

त्यसक्रममा वरिष्ठ अधिवक्ता सविता भण्डारी ‍बराल, सर्वोच्च बार एशोसिएशनका सचिव अधिवक्ता ऋषिराम घिमिर, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, युवराज वन्जाडे, नितेश श्रेष्ठ, रमणलाल कर्ण तथा उच्च अदालत बार पाटनका सदस्य अधिवक्ता गोपाल सापकोटा लगायत धेरै कानून व्यवसायीहरु घाइते भएको विज्ञप्तिमा जनाइएको छ।

प्रहरी आक्रमणको अनुसन्धान र आगामी कार्यक्रमहरुमा अनुगमन गर्न बारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवै मानवअधिकार सम्बन्धी संघ संस्थाहरुलाई आह्वान गरेको छ। साथै भोलिदेखि नै अदालत परिसरबाट दंगा प्रहरी हटाउन गृह प्रशासन र अदालत प्रशासनको ध्यानाकर्षण गराएको बारले जनाएको छ।

विचौलिया वा भिजिलान्तेहरुबाट कुनै पनि कानून व्यवसायी माथि आक्रमण तथा असुरक्षाको अवस्था उत्पन्न भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानन्यायाधीश, अदालत प्रशासन र गृह प्रशासनले लिनुपर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ। आजको घटनाको विरुद्धमा शुक्रबार विहान १० बजे सर्वोच्च अदालत परिसरमा भेला भै थप सशक्त विरोधका कार्यक्रम सञ्चालन गर्ने बारले जनाएको छ।

‘विचौलिया र भ्रष्टका मतियारहरु नेपाल बार एशोसिएशनको परिसरमा अनधिकृत रुपमा प्रवेश गरी कानून व्यवसायीलाई अशिष्ट भाषा प्रयोग गरी हुलहुज्जत समेत गर्ने प्रयास भएको घटनाको समेत निन्दा गर्दछौँ र कुनै पनि वहाना र शर्तमा प्रधानन्यायाधीशको राजीनामा नभई हाम्रो आन्दोलन नरोकिने पुनः स्पष्ट गर्न चाहान्छौँ’ बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।