• मंसिर १५ २०८१, शनिबार

झुठा विवरण बुझाई प्रहरीमा भर्ना, ३ जना विरुद्ध मुद्धा दायर

मंसिर १ २०७८, बुधबार

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (असई) सहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बाराको इलाका प्रहरी कार्यालय सिमरौनगढमा कार्यरत असई वीरेन्द्र महतोसहित तीन जनाविरूद्ध अख्तियारले मंगलबार काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आफ्नो नागरिकता र एसएलसीको प्रमाणपत्रमा जन्म मिति सच्चाई प्रहरीमा भर्ना भएको आरोप महतोमाथि छ ।

अनुसन्धान हुँदा असई महतोले जन्म मिति सच्चाएर प्रहरीमा भर्ना गरेको पाइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । साथै जवानबाट उनी सोही नक्कली प्रमाणपत्र पेश गरी असईमा बढुवा समेत भएका थिए । उनीसँगै सरस्वती माध्यमिक विद्यालय, पिपरा, रौतहटमा तत्काल कार्यरत प्रधानाध्यापक रवीन्द्र झा र शिक्षक मुकेशकुमार सिंहविरूद्ध पनि मुद्दा दायर भएको छ ।

उनीहरूले प्रमाणपत्र जारी गर्दा जन्ममिति सच्याएर आफूहरूलाई फाइदा हुने काम गरेको अख्तियारले जनाएको छ ।

सो आरोप पुष्टि भएको भन्दै अख्तियारले उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो ।